पूर्वाञ्चल खबर
अस्पतालमा उपचारका लागि आउने अशक्त, अपाङ्गता भएका तथा ह्विलचियर आवश्यक पर्ने बिरामीको सहजताका लागि युवाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत यो सहयोग गरेका हुन्।
‘कोशी प्रदेश समन्वय परिषद्, कतार’ को आयोजना तथा त्यहाँ क्रियाशील विभिन्न जिल्ला संस्थाहरूको सहकार्यमा कुल ५ लाख ६० हजार रुपैयाँ बराबरका २८ थान ह्विलचियर वितरण गरिएको हो। प्रतिथान २० हजार रुपैयाँ मूल्य पर्ने ती सामग्री प्रदेश स्वास्थ्य मन्त्रालयमार्फत सम्बन्धित अस्पतालहरूलाई आज हस्तान्तरण गरिएको परिषद्ले जनाएको छ।
परिषद्का महासचिव महेन्द्र उप्रेतीका अनुसार मोरङको कोशी अस्पताल, सुनसरीको जिल्ला अस्पताल इनरुवा, झापाको बाह्रदशी अस्पताल र बनियानी प्राथमिक स्वास्थ्य केन्द्रलाई ह्विलचियर प्रदान गरिएको छ। यस्तै उदयपुरको गाईघाट, इलाम, पाँचथरको फिदिम, ताप्लेजुङको फुङलिङ, धनकुटा, ओखलढुङ्गाको रुम्जाटार र सोलुखुम्बुको फाप्लु जिल्ला अस्पताललाई पनि ह्विलचियर उपलब्ध गराइएको छ। त्यसैगरी सङ्खुवासभाको खाँदबारी र चैनपुर अस्पताल, तेह्रथुमको म्याङ्लुङ र सङ्क्रान्ति बजार प्राथमिक स्वास्थ्य केन्द्र, भोजपुरको जिल्ला अस्पताल र दिङ्गला नगर अस्पताल तथा खोटाङका जन्तेढुंगा र बराहपोखरी गाउँपालिकास्थित आधारभूत अस्पतालहरूलाई ह्विलचियर हस्तान्तरण गरिएको उप्रेतीले जानकारी दिए।
स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा कोसी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीले प्रवासमा पसिना बगाइरहेका युवाहरूले मातृभूमिको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे। ‘दुर्गम तथा जिल्ला अस्पतालमा आउने असहाय बिरामीका लागि यो सहयोग निकै राहतपूर्ण हुनेछ,’ मन्त्री पराजुलीले भने, ‘प्रदेश सरकार पनि जिल्ला अस्पतालहरूको भौतिक तथा प्राविधिक स्तरोन्नति र सेवा सुदृढीकरणमा निरन्तर लागिरहेको छ।’