पूर्वाञ्चल खबर
आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा पाण्डेले आफू विगत १८ महिनादेखि नेपालको शैक्षिक क्षेत्र सुधारका लागि अभियानमा सक्रिय रहेको बताए। गैरआवासीय नेपाली (एनआरएन) समेत रहेका पाण्डेले नेपालका विश्वविद्यालयलाई नै गुणस्तरीय र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए।
पाण्डेका अनुसार विदेशी विश्वविद्यालयका दर्जनभन्दा बढी विश्वविद्यालयको सम्बन्धन लिएर नेपालभर ५८ वटा कलेज सञ्चालनमा छन् र ती कलेजमा करिब ३६ हजार विद्यार्थी अध्ययनरत छन्। उनले यस्ता कलेज सञ्चालन नेपालको संविधानविपरीत रहेको समेत दाबी गरे ।
विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजहरू गुणस्तरीय नभएको, रोजगारीको प्रलोभन देखाएर विद्यार्थी तथा अभिभावकलाई आकर्षित गर्ने गरेको र उनीहरूलाई ठगी गरिरहेको पाण्डेले आरोप लगाए। उनले यस्ता कलेजका कारण विद्यार्थी तथा अभिभावक समस्यामा परेको दाबी गर्दै सम्बन्धनमा आधारित कलेज सञ्चालनको विषयमा सरकारले गम्भीर समीक्षा गर्नुपर्ने बताए।
“विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा कलेज सञ्चालन गर्नु गलत हो। यो नेपालको संविधानविपरीतको कार्य हो” पाण्डेले भने। पाण्डेले विगतका सरकारले विदेशी विश्वविद्यालयको सम्बन्धन लिएर सञ्चालित कलेजलाई रोक्न नसकेको आरोप पनि लगाए। अहिले मुलुकमा बलियो सरकार भए पनि यस विषयमा सरकारको पर्याप्त ध्यान जान नसकेको उनको भनाइ छ।
नेपालका विश्वविद्यालयलाई नै सुधार र सुदृढीकरण गर्नुपर्नेमा जोड दिँदै पाण्डेले विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजको नियमन तथा सञ्चालनसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न सरकारसँग माग गरे।