पूर्वाञ्चल खबर
आज सशस्त्र प्रहरी बल नेपाल बीओपी (बोर्डर आउट पोस्ट) धनापट्टीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका एक जना व्यक्तिलाई शंकास्पद अवस्थामा देखेपछि नियन्त्रणमा लिन खोजेको थियो । मन्दिरको साइटतर्फको बाटो हुँदै टाउकोमा झोला बोकेर नेपाल प्रवेश गर्दै गरेका व्यक्ति सशस्त्र प्रहरीलाई देखेपछि झोला छाडेर भारततर्फ फरार भएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले बताए ।
उनका अनुसार सशस्त्र प्रहरीले उक्त झोला खोलेर चेकजाँच गर्दा कस्मेटिक सामानभित्र लुकाएर राखिएको अवस्थामा २५ सय क्लारियो र २५ सय ट्रामाडोल गरी ५ हजार क्याप्सुल लागुऔषध फेला परेको हो । बरामद गरिएको लागुऔषध आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
लागुऔषध ओसारपसारमा संलग्न व्यक्तिको पहिचान हुन सकेको छैन । फरार भएका ती व्यक्तिको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।