पूर्वाञ्चल खबर
समितिका उपाध्यक्ष पारुल क्षेत्रीको अध्यक्षतामा आज बसेको बैठकले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।
बैठकले बाढीबाट घाइते तथा प्रभावित नागरिकको तत्काल उपचार , हराईरहेका नागरिकको तीब्रताका साथ खोजी र राहतमा सहयोग पुर्याउने उद्देश्यले समितिको तर्फबाट ५१ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।
प्राकृतिक विपद्का कारण रसुवामा ठूलो जनधनको क्षति भएको भन्दै समितिले प्रभावित नागरिकको पीडाप्रति गहिरो सहानुभूति व्यक्त गरेको छ। बाढीका कारण घर, सम्पत्ति तथा भौतिक संरचना गुमाएका परिवारलाई तत्काल आवश्यक राहत उपलब्ध गराउनु राज्यको प्राथमिक दायित्व भएको समितिको निष्कर्ष छ।
समितिले बाढीबाट घाइते भएका नागरिकको निःशुल्क, सहज र प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। प्रभावित क्षेत्रमा आवश्यक औषधि, स्वास्थ्य सामग्री, चिकित्सक तथा स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था गरी स्वास्थ्य सेवा सहज बनाउनसमेत सरकारको ध्यानाकर्षण गराइएको छ।
प्रभावित क्षेत्रमा खाद्यान्न, खानेपानी, कपडा, औषधि तथा अन्य अत्यावश्यक सामग्री तत्काल पुर्याउन सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरिएको छ। बाढीका कारण विस्थापित तथा जोखिममा रहेका परिवारलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरी दीर्घकालीन पुनःस्थापनाको योजना अघि बढाउन पनि समितिले माग गरेको छ।
बैठकले विपद्पछिको राहतमा तत्कालीन आवश्यकतासँगै प्रभावित क्षेत्रको पुनर्निर्माण, विस्थापित परिवारको पुनःस्थापना र स्थानीय जनजीवनलाई सामान्य अवस्थामा फर्काउने दीर्घकालीन योजना आवश्यक रहेकोमा समेत जोड दिएको छ।