पूर्वाञ्चल खबर
विराटनगरमा आयोजित उक्त कार्यक्रम विशेषगरी पेडागोजिकल लिडरसिप .शैक्षिक नेतृत्व) विषयमा केन्द्रित रहेर प्रिन्सिपल्स मिट २०८२ सम्पन्न भएको हो ।
कार्यक्रमका मुख्य सहजकर्ता एवं ईसिईसिका प्रबन्ध निर्देशक पिताम्बर न्यौपानेले आधुनिक शिक्षा प्रणालीमा नेतृत्वको भूमिका, शिक्षण सिकाइको प्रभावकारिता र विद्यालयको शैक्षिक वातावरण सुधार गर्ने उपायहरूका बारेमा गहन प्रशिक्षण दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले विद्यालयको चौतर्फी विकासका लागि नेतृत्वको भिजन स्पष्ट हुनुपर्नेमा जोड दिए। उनले भने— ूआजको बदलिँदो समयमा विद्यालयका प्रिन्सिपलहरू केवल प्रशासक मात्र भएर पुग्दैन, उहाँहरू कुशल पेडागोजिकल लिडर पनि हुनुपर्छ। कक्षाकोठा भित्र भइरहेको शिक्षण सिकाइ प्रक्रियालाई कसरी अझ बढी प्रभावकारी र विद्यार्थीमैत्री बनाउन सकिन्छ भन्ने कुरामा नेतृत्वको ध्यान जानु जरुरी रहेको अध्यक्ष श्रेष्ठले बताए ।
हाम्रा सदस्य विद्यालयका प्रिन्सिपलहरूको क्षमता अभिवृद्धि गरी समग्र शैक्षिक स्तर उकास्न यो कार्यक्रम कोशेढुङ्गा सावित हुने हामीले विश्वास लिएका छौं, उनले भने । उक्त मिटमा विराटनगरका ३० जना भन्दा बढी निजी विद्यालयका प्रिन्सिपलहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले यस प्रकारका तालिम र अन्तरक्रियाले विद्यालय सञ्चालनमा आइपर्ने आधुनिक चुनौतीहरू सामना गर्न थप उर्जा र ज्ञान मिलेको प्रतिक्रिया दिएका छन्।
प्याब्सन महानगर समितिले आगामी दिनमा पनि शिक्षक तथा कर्मचारीहरूको क्षमता विकासका लागि यस्तै रचनात्मक कार्यक्रमहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता तालिम संयोजक तथा उपाध्यक्ष अशोक लामाले व्यक्त गरेको छ।