पूर्वाञ्चल खबर
विराटनगर / सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक सिटी सफारी चालकको मृत्यु भएको छ ।
तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको हो ।सुनसरी प्रहरीका अनुसार राति करिब १ बजेतिर गोली चलेको सूचना प्राप्त भएपछि घटनास्थल पुगेको टोलीले साहलाई मृत फेला पारेको थियो।
साहले आफ्नो सिटी सफारीमा ८–१० बोरा चिनी लोड गरेर भारतबाट नेपालतर्फ ल्याउँदै थिए । सोही क्रममा गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले उनलाई गोली प्रहार गरेको हो । मालसामान ओसारपसारको विषयलाई लिएर प्रहरी र साहबीच केही समय विवाद भएको थियो । विवाद बढ्दै जाँदा प्रहरीले गोली चलाएको र साहको घटनास्थलमै मृत्यु भएको दाबी गरिएको छ ।
साहको मृत्यु भएपछि आक्रोशित भिडले शव उठाउन दिएको छैन । सुनसरीका डीएसपी चन्द्र खड्काले स्थानीयसँग वार्ता भइरहेको बताए । घटना भएको स्थान भारतीय सीमाबाट करिब ५०० मिटरको दूरीमा रहेको छ ।