खबर पूर्वाञ्चल
मोरङ क्षेत्र नम्बर ४ बाट मोदीको नाम एकल (निर्विकल्प) सिफारिस भएको छ भने क्षेत्र नम्बर ६ बाट पनि उनको नाम सिफारिसमा परेको छ ।
पार्टीको केन्द्रीय समितिले उम्मेदवार सिफारिस गर्दा एक महिला र एक जेनजी सहित पाँच जनाको नाम पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको थियो । तर, क्षेत्र नम्बर ४ को क्षेत्रीय समितिले मोदीको लोकप्रियता र प्रभावलाई मध्यनजर गर्दै अन्य नाम समावेश नगरी उनलाई मात्रै निर्विकल्प उम्मेदवारका रूपमा अघि सारेको हो । उता, क्षेत्र नम्बर ६ बाट भने मोदीसहित प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस भएको छ ।
दुई निर्वाचन क्षेत्रबाट सिफारिसमा परेका मोदी मोरङ क्षेत्र नम्बर ४ का निवर्तमान सांसद हुन् । उनी यसअघि लगातार तीन कार्यकाल सांसद भइसकेका अनुभवी नेता हुन् । उम्मेदवार चयनमा क्षेत्र नम्बर ४ मा सर्वसम्मत निर्णय भएपछि त्यस क्षेत्रका पार्टी नेता तथा कार्यकर्ताहरू उत्साहित देखिएका छन् ।
नेकपाले उम्मेदवारको नाम सिफारिस गरी पठाउन जिल्ला समितिलाई पुस ११ गतेसम्मको समयसीमा तोकेको छ । क्षेत्रीय समितिहरूबाट प्राप्त भएका यी नामहरूलाई पार्टीले तोकेको मापदण्ड र समावेशी आधारमा जाँचबुझ गरी जिल्ला कमिटीले प्रदेश र केन्द्रमा अन्तिम सिफारिस पठाउने तयारी गरेको छ ।