पूर्वाञ्चल खबर

तरुण दलका सदस्यहरूले देशको राजनीतिक नेतृत्वलाई ‘म्युजिकल चेयर’ जस्तो घुमिफिरी राज्यसत्तामा पुग्ने खेलमा मात्रै सीमित भएको आरोप लगाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो दशकदेखि राजनीतिबाट बाहिर निस्कन नसकेको नेतृत्वका कारण अहिलेको निराशाजनक परिस्थिति निर्माण भएको हो । राजनीतिक दलहरूले पार्टी कब्जा गर्ने र विरोधीलाई पाखा लगाउने नीति लिएकाले जनतामा वितृष्णा बढेको छ ।’
उनीहरूले वर्तमान राजनीतिक नेतृत्वलाई पुरानो मानसिकता त्यागेर नागरिकको भरोसा जित्न र नयाँ पुस्ताले उठाएका भ्रष्टाचार अन्त्य, सुशासन र पुस्तान्तरणको एजेन्डालाई आत्मसाथ गर्दै मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।
विज्ञप्तिमा तरुण दलका सदस्यहरूले आफ्नै पार्टी नेपाली कांग्रेसको नेतृत्वमाथि पनि गम्भीर प्रश्न उठाएका छन् । कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद यही असोज २६ गते सकिने भन्दै उनीहरूले मंसिरमा बस्ने केन्द्रीय समिति बैठकबाट १५औं राष्ट्रिय महाधिवेशनको मिति तोक्न जोडदार माग गरेका छन् । ‘नेपाली कांग्रेसको चौधौं महाधिवेशनले निर्वाचित गरेको कार्यसमितिको म्याद सकिने यहि असोज २६ गतेबाट सुरु हुने केन्द्रीय समिति बैठकले नेपाली कांग्रेसको पन्ध्रौं राष्ट्रिय महाधिवेशनको मिति तोकेर तल्लो इकाइदेखि केन्द्रसम्म पार्टी रुपान्तरण, पुस्तान्तरणको बाटोमा आफूलाई अग्रसर गराउने सन्दर्भमा विलम्ब नगर्न जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र अधिक जनसहभागितामूलक बनाउन पनि सरकारसँग माग गरेका छन् । तर, निर्वाचनअघि नै मुख्य राजनीतिक दलहरूले मूल नेतृत्व फेरेर जानु आमजनताको चाहना भएको तरुण दलका केन्द्रीय सदस्य नेत्र पौडेलले बताए ।