AArya
RUMPUM
animated ellipse animated ellipse

महानगरपालिकाद्वारा एकीकृत बालस्वास्थ्य शिविर सञ्चालन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ आश्विन २०८०, शुक्रबार १७:००
3
Shares
विराटनगर / विराटनगर महानगरपालिकाले एकीकृत बालस्वास्थ्य शिविर सञ्चालनमा ल्याएको छ ।

महानगरले वडा नम्बर १९ स्थित वैजनाथपुर अस्पतालमा आजदेखि एकीकृत बालस्वास्थ्य शिविर सञ्चालन ल्याएको हो । विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर १९ का अध्यक्ष श्याम घिमिरेको उपस्थितिमा बालस्वास्थ्य शिविर सुरु गरिएको हो । पोषण स्थिति सुधार गर्दै बालबालिकाहरूमा बिरामीदर र मृत्युदर कमी ल्याउने उद्देश्यका साथ महानगरले बालस्वास्थ्य शिविर सुरु गरेको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए ।

शिविरमा बाल रोग विशेषज्ञ, पोषण विशेषज्ञ, स्वास्थ्य परामर्शदाता, स्वास्थ्यकर्मी, नर्सिङ कर्मचारीलगायतले सेवा दिनेछन् । “यो विशेष प्रकारको शिविर हो । जसमा बिरामी जाँच गर्नुका साथै ५ वर्षभन्दा मुनिका बालबालिकामा पोषणको लेखाजोखा गरी औषधिसहित पोषण सामग्री वितरण गरिन्छ,” कार्यबाहक मेयर कार्कीले बताइन् ।

पोषण स्थिति पत्ता लगाउनका लागि पाखुराको जाँचका साथै उचाइ र तौलसमेत जाँच गरी पोषणको लेखाजोखा गरिन्छ । कुपोषण भएका बालबालिकाहरूलाई बालरोग विशेषज्ञ तथा पोषण विज्ञको सल्लाहअनुसार ३ महिनासम्म पोषण सामग्रीसमेत प्रदान गरिनेछ । पोषण सामग्रीमा चना, दाल, दूध, केरा, अण्डा, चामलसमेत वितरण गरिने अलीले बताए ।

शिविरमा आउने सबै बालबालिकाहरूलाई सरसफाई प्रवद्र्धन गर्नका लागि दुईवटा हात धुने साबुनसमेत प्रदान गरिनेछ । बिरामी पत्ता लागेका बालबालिकाहरूलाई निःशुल्क औषधि प्रदान गर्नुका साथै रेफर गर्नुपरेको अवस्थामा अस्पतालहरूसँग समन्वय गरी निःशुल्क उपचारको व्यवस्था मिलाइनेछ । १९ वटा वडाबाट सुरु भएको यो शिविर महानगरका सबै वडामा सञ्चालन गरिने स्वास्थ्य महाशाखा प्रमुख अलीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर