पूर्वाञ्चल खबर
मोरङ र सुनसरीको विभिन्न ठाउँमा हातहतियार देखाउँदै श्रृंखलाबद्ध लुटपाट गर्ने गिरोहले भदौ २२ गते प्रहरीकै हतियार लुटेको थियो ।
२० दिनमा ११ ठाउँमा श्रृंखलाबद्ध लुटपाट गर्दै हिड्ने गिरोहका मुख्य नाइकेसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका मध्ये एक जना नावलक रहेका छन् । उनीहरुलाई मोरङ प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
यसरी पक्राउ पर्नेहरूमा सुनसरी दुहवी नगरपालिका ४ का बर्ष ३२ का नसुदिन मियाँ, सोही ठाउँका ३० वर्षे महमदअलिम मुर्तुजा, मोरङ बुढिगंगा गाउँपालिका ४ बस्ने बर्ष ४० का रिजवन मियाँ, भारत घर भई हाल दुहवी नगरपालिका ६ का बर्ष ४० का महमद आलम, बुढिगंगा गाउँपालिका ५ बस्ने बर्ष २१ का महमद नजरूल मियाँ र सोही ठाउँका बर्ष २५ का सिजाम आलम रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनककुमार दाहालले बताए ।
उनीहरुले मोरङ र सुनसरीमा रातको समयमा यात्रा गर्नेहरुलाई हतियार देखाएर लुटपाट गर्ने गरेको प्रहरीमा उजुरी परेको थियो । यो समूहले लुटपाट गरेको भन्दै भदौ ५ गते जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी परेको थियो । तर भदौ २२ गते बुढीगंगा ४ पेठियामा यही समूहले प्रहरीमाथि आक्रमण गर्दै हतियार खोसेर लगेपछि चलाइएको कारबाहीमा ६ जना पक्राउ परेका हुन् ।
ड्युटीमा रहेका सादा पोशाकमा प्रहरी जवान विमन परियार र प्रेम चौधरीलाई त्यस दिन चार जनाको समूहले आक्रमण गरी हतियार लुटेर लगेको थियो ।
अनुसन्धानका क्रममा लुटपाट भएको पेस्तोलसहित गिरोहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दाहालले जानकारी दिए ।
प्रहरीका अनुसार लुटपाट गर्ने गिरोहको नाइके रिजवान हुन् । उनी २०६४ सालदेखि २०७९ सालसम्म १० वटा अपराधिक घटनामा संलग्न भएको प्रहरीको दाबी छ । उनी विरुद्ध मोरङ र सुनसरी प्रहरीले अनुसन्धान गरिरहेको थियो ।
रिजवानविरुद्ध डाका ज्यान, चोरी, हातहतियार खरखजाना, ज्यान मार्ने उद्योगलगायतका मुद्दा थिए । हातहतियार मुद्धामा केही समय उनी पुर्पक्षको लागि कारागार समेत बसेका थिए ।