पूर्वाञ्चल खबर
आज आयोजित विशेष समारोहका बीच मेयर कोइरालाले भवनको उद्घाटन गरेका हुन् । २०७७ सालदेखि सो वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको थियो । आफ्नै भवन नहुँदा वडा कार्यालयबाट सेवा प्रवाह हुँदै आएको थियो । महानगरको आफ्नै जग्गामा एक तले भवन निर्माण गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले महानगरले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले सेवा केन्द्रबाट ज्येष्ठ नागरिकसहित गर्भवती, असक्त नागरिकहरुलाई सहज रुपमा सेवा प्रवाह हुने बताए । मेयर कोइरालाले महानगरको आफ्नै सिटी अस्पताल सञ्चालनको योजनासमेत रहेको सुनाए । वडा तहमा भएका स्वास्थ्य सेवा केन्द्रहरुबाट रेफर गरिएका बिरामीलाई महानगरस्तरीय सिटी अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाउन सकिए विराटनगरवासीलाई धेरै राहत हुने उनको भनाइ थियो ।
कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले हरेक वडामा ल्याबसहितको स्वास्थ्य सेवा दिनेगरी महानगरले कार्य गरिरहेको बताइन् । उनले आगामी आर्थिक वर्षको बजेटमा ८० वर्षभन्दा माथि उमेर भएका ज्येष्ठ नागरिकहरुलाई सम्पूर्ण सेवा निःशुल्क प्रवाह गर्ने तयारी भइरहेको जानकारी दिइन् । कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, भवन निर्माण समितिकी संयोजक तुलसा भट्टराईलगायतले मन्तव्य व्यक्त गरे ।
केन्द्रबाट गर्भवतीको नियमित जाँच, प्रेसर, सुगरको चेकजाँचसहित आधारभूत स्वास्थ्य सेवाका साथै औषधिसमेत निःशुल्क उपलब्ध हुने महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए ।