पूर्वाञ्चल खबर
तस्करी भएर आएको ७० बोरा चिनीसहित ट्रक सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बखरी बिओपीका इनिसपेक्टर दिलबहादुर पन्तको टोलीले आज दिउँसो नियन्त्रणमा लिएको हो ।
बिओपी बखरीले विराटनगर – ६ ब्रम्हापुरादेखि अवैध चिनीसहित को १ ख २१२९ नम्बरको मिनी ट्रक पनि प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल मोरङका एसपी तिर्थ पौडेलले जानकारी दिए । तस्करी भएर चिनी ल्याउँदै गरेको मिनी ट्रकका सवारी चालक सुनसरी देवनगन्च गाउँपालिका – २ का २८ वर्षिय राजेशकुमार खत्वेलाई पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । चालक खत्वेले विराटनगरको भट्टीमोडसम्म पु¥याउने जिम्मा लिएको खुलेको छ ।
प्रहरीले नियन्त्रणमा लिएको सवारी देवनगन्च २ का विसनदेव मेहताको हो । भारतदेखि तस्करी भएर आएको चिनी सुनसरीको अमरडुवामा ल्याएर राखिएको थियो । अमरडुवादेखि ट्रकमा चिनी लोड गरेर तस्करीको चिनी विराटनगर ल्याउने क्रममा सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
तस्करी भएर आएको चिनी सुनसरीको कप्तानगञ्जमा होलसेल पसलको कारोबार गर्ने अरविन यादवको रहेको स्रोतले जानकारी दिएको छ । उनले तस्करी भएर आएको चिनी विराटनगरसहितको पूर्वको विभिन्न सहरमा पठाउने गरेको छन् ।
सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणमा प्रहरी टोली लागि परेको सशस्त्र प्रहरी बल मोरङका एसपी पौडेलले बताए । तस्करीजन्य गतिबिति रोक्न सीमा क्षेत्रमा कडा निगरानी गरिएको उनले बताए । प्रहरीले बरामद गरेको चिनी २ लाख १० हजार मुल्य बरावरको रहेको छ । बरामद चिनी बिओपी बखरीले विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।