पूर्वाञ्चल खबर
ऐन लागु भएको ७ वर्ष वितेपनि कार्यन्वयन प्रभावकारी नभएको भन्दै प्रदेश सरकारले अभियान सञ्चालन गर्न लागेको जनाएको छ ।
आज विराटनगरमा सामाजिक विकास मन्त्रालयले आयोजना गरेको स्वस्थ्य जीवन प्रर्वद्धन अभियान अन्र्तगत सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन संवन्धिको अन्तरक्रिया कार्यक्रम बोल्दै प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले नेपालमा सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण ऐन २०६८ ले पनि शिक्षण संस्था, स्वास्थ्य संस्था र सार्वजनिक स्थलको १ सय मिटरको क्षेत्रभित्र कुनै प्रकारको सुर्तीजन्य पदार्थको बिक्रि वितरण गर्न नपाईने कानुनी व्यवस्था रहेको बताए । उनले यस कानुनी प्रावधानलाई फाल्गुण १ गतेदेखि प्रदेश १ भरि नै प्रभावकारी ढङगबाट कार्यान्वयन गर्ने तयारीमा रहेको जानकारी दिए । साथै व्यङग्यात्मक शैलीमा मन्त्री घिमिरेले नेपालमा शौचालय परिसरभित्र सुर्तीजन्य पदार्थको खपत बढी हुने गरेको उल्लेख समेत गरे ।
मन्त्री घिमिरेले विद्यालयमा ‘जङ्क फुड’ पूर्णरुपमा निधेष गरिने समेत बताए । विद्यालयमा ‘जङ्क फुड’ प्रयोग गरिएको भेटिएमा कारवाही गरिने उनले बताए ।
मन्त्रालयले शुरु गरेको स्वस्थ्य जीवन प्रवद्र्धन कार्यक्रम अन्र्तगत २० वर्ष उमेर समूह भन्दा माथि सवैको स्वास्थ्य परिक्षण गरिने योजना बनाएको मन्त्री घिमिरेले बताए । उनले भने,‘ सुगर परिक्षण र क्यान्सर परिक्षण पनि गरिने छ ।’
मुटुरोग विशेषज्ञ डा. शंकरप्रसाद अधिकारीले धूमपानको असर शरिरका हरेक प्रणालीमा पर्ने बताऐ । उनले धुमपानबाट फोक्सोको क्यान्सर हुने मात्र भनेर नबुझन् पनि आग्रह गरे । विद्यालयमा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि तहगत रुपमा जानकारी दिन आवस्यक रहेकोमा डा. अधिकारीले जोड दिए ।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा.सुरेश महतले सर्ने भन्दा नसर्ने रोग बढ्दो मात्रामा रहेको बताए । जीवन शैलीमा परिवर्तनका लागि मन्त्रालयले स्वस्थ्य जीवन प्रवद्र्धन कार्यक्रम शुरु गरेको उनले बताए ।
मन्त्रालयले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि आगामी माघ ६ गते विराटनगरमा बृहत जागरण अभियान सञ्चालन गर्ने बताएको छ । २०६८ सालमा जारी भएको ऐन अहिले सम्म कार्यन्वयनमा आउन नसकेको भन्दै विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा सञ्चालकहरुले पूर्ण कार्यन्वयनका लागि जोड दिएका छन् ।
पोखरिया माविका प्रधानाध्यापक खेमराज भट्टराईले विद्यालय आसपासमा खुलेआम रुपमा सुर्तीजन्य पदार्थको विक्री वितरण भईरहेको बताए । मन्त्रालयले शुरु गरेको अभियान निरन्तर चल्नुपर्नेमा उहाँले जोड दिए । सेन्ट जोसेफ स्कुलका निर्देशक रोहितजंग थपलिया, हिसान मोरङका अध्यक्ष राजेश कार्की,हिसान मोरङका वरिष्ठ उपाध्यक्ष अमित ढकाल, प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राई र अर्कीड कलेजका प्रिन्सिपल दिपेश वाँस्तोला लगायतले ऐन कार्यन्वयनमा जोड दिनु भएको थियो ।