पूर्वाञ्चल खबर
विराटनगर महानगरपालिकाले हालै गरेको स्वास्थ्य शिविरमा ३ सय ५० जना कैदी बन्दीमा छाला रोगको विरामी भेटिएको हो । महानगरले आयोजना गरेको शिविरमा ९० प्रतिशत कैदीबन्दीमा छाला रोगीका विरामी भेटिएको विराटनगर महानगरपालिकाको जनस्वस्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए । महानगरले ३ सय ९६ जना कैदी बन्दीको स्वास्थ्य जाँच गरिदा ३ सय ५० जनामा छाला रोगीको विरामी भेटिएको जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए । अन्य ४६ जनामा आँखामा समस्या भएको विरामी भेटिएको थियो ।
मोरङ कारागारमा तीन सय जनाको क्षमतामा सोमबारसम्म ९ सय २६ जना कैदीबन्दी छन् । ८८ जना महिला र ८ सय ३१ जना पुरूष कैदी बन्दी रहेको कारागारका जेलर सुवासकुमार लामिछानेले जानकारी दिए । ७ जना बालवालिका छन् । समय अभावले गर्दा सबै कैदीबन्दीको स्वास्थ्य परिक्षण गर्न नसकिएको जनस्वास्थ्य महाशाखाका प्रमुख कार्कीले बताए । बाँकी रहेका कैदीबन्दीको स्वास्थ्य जाँच पुनः परिक्षण गरि महानगरपालिकाले औषधी पनि वितरण गर्ने बताए ।
पहिलो पटक महानगरले आयोजना गरिएको शिवरमा १ लाख ५० हजारको औषधी वितरण गरेकोे कार्कीले बताए ।
कर्तब्य ज्यान मुद्दामा कैद भुक्ता गर्दै आएका सप्तरी घर भएका जितेन्द्रकुमार साहले शरीरको विभिन्न भागमा लुतो र दागले सताएको बताए । कारागार आएपछि चिलाउँने लुतो र दाग आएको उनले सुनाए । ‘शरिर चिलाएर सुत्न सकेको छुइन्,’ उनले भने, ‘सुत्न खोज्छु शरिरको भाग चिलाएर हैरान बनाइसक्योे ।’ दिउँसो भन्दा राती र विहानी पख शरिर चिलाउने गरेको उनले बताए । ‘कारागार आउनुभन्दा अगाडीे एक ठाउँमात्र दाग थियो,’ उनले भने, ‘अहिले शरिर भरि लुतो र दाग फैलियो । साँझ परेपछि सुत्न ओछ्यानमा पल्टेको मात्र हुन्छु । शरिर चिलाउन सुरू हुन्छ ।’ रातभरी शरिर कनाएर रात कटने गरेको उनले बताए । ‘लुतो र दाग आएको ठाउँमा लगाउने मलम पनि छ । लगाएको केही बेरसम्म ठिक पनि हुन्छ । त्यसपछि फेरी उस्तै चिलाउन सुरू हुन्छ,’ उनले भने, ‘हातको नङ्गले कन्याउँदा शरिरबाट रगत निस्कियो ।’
लागूऔषध मुद्दामा कैद भुक्तान गर्दै आएका धरान – ८ का ३४ वर्षिय सन्दिप साहको शरिरमा पनि रातो फोका भएको दागहरू शरिर भरी छन् । चिकित्सकले लुतो भएको जानकारी दिएपछि औषधी सेवन गर्दै आएका साहले विगतका भन्दा अलिक जाति हुँदै गएको बताए । ‘चिकित्सक आएर औषधी दिएपछि अहिले अलिक ठिक भएको छ,’ उनले भने ।
कैदी बन्दीको स्वास्थ्य परिक्षण गरेका छाला रोग विशेषयज्ञ डा. राजिव यादवले कारागारमा छाला रोगीका विरामी अत्याधिक रहेको बताए । उनका अनुसार कैदी बन्दीमा लुतो, दात र एलर्जीका विरामी बढी रहेको जानकारी दिए । सरसफाइको कमि र नियमित औषधी सेवन नर्गनाले छाला रोगीका विरामी बढी भेटिएको उनले बताए । ‘छाला रोग सरूवा हो,’ उनले भने, ‘साँघुरो कोठामा छाला रोगीका विरामीहरू छन् । एक बाट आर्कोमा यो रोग सर्दछ ।’ मुख्य कुरा सरसफाइमा ध्यान नदिदा कारागारमा छाला रोगीका विरामी बढी देखिएको उनले बताए । ‘छोला रोगीका विरामीले घाममा निस्किनु पर्दछ । घामको किरणले छालाको संक्रमणहरू नष्ट गर्दछ,’ उनले भने, ‘सफा कपडा प्रयोग गरि तीन हप्तासम्म नियमित औषधी सेवनले यो रोग ठिक हुन्छ ।’ प्रयाप्त मात्रमा पानी पिउने, सागसब्जीको बढी प्रयोग गर्नुको साथै घाममा निस्किदा सनस्क्रिम र मोस्चराइजिङ क्रिमको प्रयोग गर्नाले पनि छालाको समस्याबाट बच्न सकिने उनको भनाई छ ।
क्षमताभन्दा बढी कैदी बन्दी भएको कारणले गर्दा पनि मोरङ कारागारमा विभिन्न रोगका विरामीहरू छन् । यहाँका कैदीबन्दीहरूले मासिक रूपमा स्वास्थ्य जाँच र नियमित औषधीको व्यवस्था गरिदिन राज्यसँग माग गरेका छन् ।