पूर्वाञ्चल खबर
काठमाण्डौं / नेपाल बुद्धिचाल संघले राजधानीमा आयोजना गरेको मदन भण्डारी मेमोरियल एशियन एमेच्योर चेस च्याम्पियनसिप २०१९ को राष्ट्रपति बिद्यादेवी भण्डारीले एक कार्यक्रमविच उद्घाटन गरिन् ।
बुढानिलकण्ठस्थित पार्क भिलेजमा आज राष्ट्रपति भण्डारीले चेसको गोटी चालेर च्याम्पियनसिपको उद्घाटन गरेकी हुन् । च्याम्पियनसिप उद्घाटनमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार बिश्वकर्मा, मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ, विश्व बुद्धिचाल महासंघका अध्यक्षका प्रमुख सल्लाहकार बेरिक बेल्गायिभले सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
कार्तिक २९ गतेसम्म आयोजना हुने च्याम्पियनसिपमा नेपालसहित एशियाका १५ राष्ट्रका १ सय खेलाडीहरुले सहभागित जनाउँदै छन् । २१ सय भन्दा कम रेटिङ्ग भएका तथा तथा अधिकतम फिडेमास्टरसम्मका उपाधि प्राप्त खेलाडीहरुको सहभागिता रहने च्याम्पियनसिपमा नेपालबाट आधिकारीक रुपमा २०३२ रेटिङ्ग प्राप्त हालै मात्र मास्टर्र्स उपाधि विजेता पुरुषोत्तम चौलागाई र सुजना लोहनीले प्रतिस्पर्धा गर्दैछन् । सहभागि प्रत्येक राष्ट्रबाट आधिकारीक रुपमा दुई खेलाडीमात्र सहभागि हुन पाउने भएता पनि अन्य खेलाडीहरुले खुल्ला रुपमा आफुलाई प्रतिस्पर्धीको रुपमा उभ्याउन सक्ने छन् । नेपालबाट आधिकारीक खेलाडी सहित ७० खेलाडीहरुको सहभागिता रहेको छ ।
कुल १३ हजार ५ सय अमेरिकी डलर पुरस्कार राशी रहेको तथा स्विस लिग प्रणाली अनुरुप ९ चरणसम्म क्लासिक तथा ब्लिज दुई फरम्याटमा संचालन हुने च्याम्पियनसिपका विजेताले क्यान्डिडेटमास्टर र नगद १५ सय डलर तथा महिला तर्फ विजेताले उमनक्यान्डिडेटमास्टरको उपाधि सहित नगद ७ सय डलर प्राप्त गर्ने छन् । यस्तै पुरुष तर्फ उपविजेताले १ हजार र तृतीय हुनेले ७५० डलर प्राप्त गर्ने छन् । यस्तै महिल तर्फ उपविजयीले नगद ५ सय र तेश्रोले नगद ३ सय डलर प्राप्त गर्नेछन् । अहिले सम्मकै ठुलो धनराशी पुरस्कार दावी गरिएको च्याम्पियनसिपमा क्लासिकतर्फ ३७ र ब्लिजतर्फ ६ खेलाडीले नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएका छन् ।