पूर्वाञ्चल खबर
इटहरी/सुनसरीको इटहरी स्थित बीर मेडिकल हलका सञ्चालकसहित तीन जना लागुऔषध बेचबिखनको आरोपमा पक्राउ परेका छन् ।
लागुऔषधसहित हिजो राति इटहरी उप–महानगरपालिका–११ बाट पक्राउ परेका बुढिगंगा गाउँपालिका–७ घर भएका २२ बर्षीय राहुल उराँव र सुन्दरहरैचा नगरपालिका–३ घर भएका २५ बर्षीय सुमन मोक्तानले दिएको जानकारीको आधारमा मेडिकल हलका सञ्चालक उमेश चौधरी पक्राउ परेका हु्न् ।
प्रहरी चौकी खनारबाट खटिएको टोलीले को ३४ प ६२ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा उराँव र मोक्तानहरुको साथबाट निट्राभेट ८ ट्याब्लेट, ईनपाईन ३ ट्याव्लेट, स्पास्मो ३ ट्याब्लेट बरामद गरिएको सुनसरी प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई सोधपुछ गर्ने क्रममा इटहरी–१० मा सञ्चालन हुँदै आएको वीरनारायण मेडिकल हलबाट लागुऔषध खरिद गरेको बयान उनीहरुले दिएपछि मेडिकल हलमा खानतलासी गर्ने क्रममा ८ सय ५८ ट्याब्लेट स्पास्मो बरामद गरिएको थियो ।
मेडिकल हलबाट लागुऔषध बरामद भएसँगै मेडिकल सञ्चालक चौधरीलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।