पूर्वाञ्चल खबर
विराटनगर / बिहीबार साँझ भारतीय लहरीले विराटनगर –१५ का का २२ वर्षीय अमर सिंहको मृत्यु भएपछि तनावग्रस्त बनेको विराटनगर महानगरपालिका–१५ रानी क्षेत्रको अवस्था सामान्य बनेको छ ।
भारतीय लहरीको ठक्करबाट मोटरसाइकल चालक विराटनगर–१५ का सिंहको मृत्यु भएपछि विरोधमा स्थानीय बासिन्दाले आन्दोलन सुरु गरेपछि अवस्था असामान्य बनेको थियो ।

कर्कटपाता बनाउने कच्चा पदार्थ बोकेको एन एल ०१ डी ३६९० नम्बरको लहरीलाई ओभरटेक गर्ने क्रममा बीआर ३८ आर ३२१३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो । घटनाको विरोधमा सडक अवरुद्ध गर्दै टायर बालेर प्रदर्शनमा उत्रिएका स्थानीय बासिन्दाले भारत तथा तेस्रो मुलुकबाट आयात भएका मालसामान लोड गरेर एक दर्जन बढी ठूला माल वहाक ट्रकहरुमा तोडफोड गरेका हुन् । घटनाको विरोधमा प्रदर्शन र तोडफोड हुन थालेपछि सो क्षेत्रको अवस्था असामान्य बनेको थियो । २ वटा नेपाली नम्बर प्लेटको गाडी र १० वटा भारतीय नम्बर प्लेटको गाडीमा क्षति पुर्याएका थिए ।
स्थानियवासीले जोगवनी विराटनगर सडक खण्डमा टायर बालेर प्रदर्शन गरेपछि सवारी साधन पुर्ण रुपमा ठप्प बनेको थियो । घटनाको विरोधमा सुरु भएको नारावाजी र प्रदर्शनले उग्ररुप लिएसँगै सवारी साधन पनि सञ्चालन हुन सकेका थिएनन् । मोरङ प्रहरीले घटनास्थलमा ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी समेत परिचालन गरिएको छ ।
घटनाले उग्ररुप लिएपछि मृतक पक्षसँग स्थानीय प्रशासनका तर्फबाट मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारी, प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीलगायतले आज वार्ता गरेका थिए ।
वार्तामा दुर्घटनापछि फरार रहेका लहरी चालकको खोजी व्यापक बनाउने, कारबाही गर्ने, कानुन अनुसार मृतकका परिवारलाई क्षतिपूर्ति दिने तथा मृतकका पक्षबाट सुरु भएको आन्दोलन फिर्ता गर्ने सहमति भएको हो ।
सहमतिसँगै मृतकका परिवारले कोशी अस्पतालमा पोस्टमार्टम गरेपछि शव बुझेर आजै दाहसंस्कार गरेका छन् । सहमतिपछि विराटनगर भन्सार कार्यालय आसपासमा भएको सबै खाले अवरोध हटेको र स्थानीय बासिन्दाले आन्दोलन फिर्ता लिएको मोरङ प्रहरी प्रमुख एसपी अधिकारीले जानकारी दिए ।