पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर महानगर स्थित वार्ड नं ८ मा रहेको बधशालाले पूर्णता पाउने गरी गृहकार्य थालिएको छ ।
विराटनगर महानगरले बधशाला निर्माणका लागि सरकारसंग लामो समयदेखि रकम समेत माग गर्दे आएको थियो । आज प्रदेश नं १ का अर्थमन्त्री इन्द्रबहादुर आङ्वो ,विराटनगर महानगर मेयर भीम पराजुली,उपमेयर इन्दिरा कार्की र बधशाला निर्माणको सहयोगी संस्था हेफर इन्टरनेश्नलका प्रतिनिधी समेतले बधशालाको स्थलगत निरिक्षण गरेका छन् । यस संगै आजै बसेको बैठकले नमुना बधशाला निर्माणका लागि बजेट विनियोजन गर्ने सहमति समेत भएको छ ।
कार्यक्रममा अर्थमन्त्री आङ्वोले महानगरले माग गरेबमोजिमको प्रदेश सरकारले ३ करोड रुपैया सहयोग गर्ने बताए । जनताले स्वस्थ्य मासु खान पाउने अभिलाशाले बनाउन लागिएको बधशालाले पूर्णता पाओस भन्ने अपेक्षा आफुले राखेको बतए ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर पराजुलीले विराटनगरमा निर्माणाधिन अवस्थामा रहेको बधशाला केही बर्षभित्रै सञ्चालनमा ल्याउने गरि काम थालिने बताए । उनले बधशालाका लागि महानगरले यस वर्ष १ करोड २० लाख रकम छुट्टाएको जानकारी दिए । उक्त कार्यक्रमका लागि हेफर इन्टरनेश्नल नेपालले १ करोड ४० लाखको प्राविधिक सहयोग गर्ने घोषणा समेत गरेको छ ।
कार्यक्रममा प्रदेश नं १ का विभिन्न जिल्लामा मासुको खपत हुने अवस्थाको समेत जानकारी गराएको थियो । विराटनगर ,इटहरी ,दुहवीमा गरी दैनिक ५ हजार ५ सय १४ केजी मासु खपत गरिने गरेको र जसका लागि २ सय ७५ वटा खसीबोका काटिने गरेको छ ।