पूर्वाञ्चल खबर
विराटनगर / १ नम्बर प्रदेश सरकारले अखिल नेपाल फूटबल सघ एन्फाको सहकार्यमा दुई ठूला प्रतियोगिता आयोजना गर्ने भएको छ ।
फुटलब खेलको विकाशकालागि प्रदेश सरकारले मुख्यमन्त्री कप र अन्तराष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटलब प्रतियोगिता आयोजनाकालागि एन्फासँग पाँच बर्षकालागि सम्झौता गरेको हो ।
यो प्रतियोगितामा सात वटै प्रदेशका उत्कृष्ट सात टिम, ए डिभिजनका उत्कृष्ट ६ टिम र विदेशी आमन्त्रित तीन टिम गरी कुल १६ टिमले भाग लिने छन् ।
आज प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरे र एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
यो सम्झौता २०७५ देखि २०७९ सालसम्म रहने एन्फाले जानकारी दिएको छ । यो प्रतियोगितामा प्रदेश एकमा आबद्ध १४ वटा जिल्ला फुटबल टिमले भाग लिने छन् । यो प्रतियोगिताका विजेता र उपविजेता टिमले अन्तर प्रदेश (एन्फा प्रेसिडेन्ट) कपमा भाग लिन पाउने छन् ।
सम्झौता अनुसार दुईवटा प्रतियोगिता आयोजनाकालागि प्रदेश सरकारले बार्षिक रुपमा १–१ करोड रुपैया बिनियोजन गर्ने छ । प्रदेश तहमा पहिलो पटक प्रदेश १ ले ठूलो प्रतियोगिता आयोजना गर्नेगरी सम्झौता गरेको हो ।
सम्झौतापछि फुटबल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने मुख्यमन्त्री शेरधन राईले बताएका छन् । विगतमा खेल क्षेत्र प्राथमिकतामा नपर्ने गरेको बताउदै उनले प्रदेश सरकारले खेल क्षेत्रको विकासकालागि महत्वपूर्ण कदम चालेको बताए ।
कार्यक्रममा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रदेशका लागि दुवै प्रतियोगिता गौरवमय हुने बताए। दुईवटै ठूला प्रतियोगिताले प्रदेशका लागि फरक पहिचान बनाउने विश्वास लिएको अध्यक्ष शेर्पाले स्पस्ट पारे।