‘छिडीभरिको आकाश’ हेर्न गुरुकुलमा विद्यार्थीको घुइँचो
खबर पूर्वाञ्चल
१ पुष २०७३, शुक्रबार १८:५३
3
Shares
१ पुस, विराटनगर । विराटनगर हाटखोलामा रहेको आरोहण गुरुकुलको सुशीला कोइराला घरमा मञ्चन भइरहेको नाटक छिडीभरिको आकाश हेर्न विद्यार्थीको घुइँचो लागेको छ ।
वरिष्ठ आख्यानकार परशु प्रधानले लेखेको छिडीभरिको आकाश कथा विश्वविद्यालयको कोर्समा पढाइ हुन्छ । त्यही भएर पनि विराटनगरका क्याम्पस र विद्यालयले आफैंले अग्रिम बुकिङ गरेर विद्यार्थीहरुलाई नाटक हेराइरहेका छन् ।
नाटकको पहिलो दिन बिहीबार भानु, एम्स कलेजका विद्यार्थीले नाटक हेरे । शुक्रबार डीपीएसका विद्यार्थीले नाटक हेरे । नाटक हेर्न विद्यार्थीहरु बस रिजर्भ गरेर आएका थिए । हलमा नअटेर भुइँमा समेत बसेर विद्यार्थी र अन्य सर्वसाधारणले नाटक हेरेका थिए । यसअघि यो नाटक गत असोज १३, १४ र १५ गते मञ्चन भएको थियो ।
कथाको नाट्य रुपान्तरण युवा साहित्यकार कट्वाल दीपकले गरेका हुन् । कलाकार सुदीप कार्की र सञ्जय मुडियारीले निर्देशन गरेको नाटक हरेक दिन दिउँसो १ र ३ बजे दुई शो मञ्चन हुन्छ ।
नाटक भोलि शनिबारसम्म सञ्चालन हुनेछ । २ सय २५ जना क्षमताको नाटकघरमा हरेक शो ‘हाउसफुल’ हुने गरेको आयोजक विराट आदर्श साहित्यिक मञ्चले जनाएको छ । नाटकमा आलोक लुइँटेल, सुरेश विद्रोही, सविना भट्टराई, सुरेन्द्र थापा, सरोज श्रेष्ठ, नगेन्द्र खड्का, अञ्जली श्रेष्ठ, नर्वदा निरौला, जिना राई, विमला कार्की, लकेश राई, सन्देश बाह्रकोटी, वसन्त कार्की, अञ्जु साहलगायत कलाकारले अभिनय गरेका छन् ।
विभिन्न ठाउँबाट आग्रह आएकाले पुनः नाटक मञ्चन गरिएको आयोजक समितिका कट्वाल दीपकले जानकारी दिए । ओमविक्रम कटुवालगायतले व्यवस्थापन गरेको नाटक केही दिन लम्बिने सम्भावना रहेको दीपकले बताए ।
“नाटक हेर्न दर्शकको उपस्थिति देखेर हामी निकै उत्साहित भएका छौं,” उनले भने, “यसबाट हामीलाई थप हौसला प्राप्त भएको छ ।” नाटकमा अभिनय गर्ने अधिकांश कलाकार विराटनगरकै विभिन्न क्याम्पस र विद्यालयमा अध्ययनरत विद्यार्थीहरु हुन् ।
तपाईको प्रतिक्रिया