पूर्वाञ्चल खबर
साँझ ८ बज्नसाथ प्रहरी आफै पसल र होटल बन्द गराउँदै हिड्ने गरेपनि अपराधिक घटना नियन्त्रण नभएको भन्दै सर्वसाधारण आक्रोशित छन् ।
रात परेपछि बाटोमा चेकिङको नाममा द्वन्द्वकालको झल्को दिने शैली अपनाउन थालेको इटहरी प्रहरीले अपराध गर्नेलाई भने पक्राउ गर्न सकेको छैन । चोरीका घटना नियन्त्रणमा लिन डिएसपी शिवकुमार श्रेष्ठले रातभर दुई सिफ्टमा सिभिल र बर्दीधारी प्रहरीको टोली इटहरीभित्र परिचालन गरेको बताए । तर, चोरी नियन्त्रण हुन सकेको छैन ।
सवारी चेकजाँचको लागी सरप्राईज चेकिङ ठाँउ ठाँउमा चलिनै रहेका छन् । तर पनि चोरी किन घटेको छैन भन्ने प्रश्न प्रहरीमाथि उठेको हो । प्रहरीले आफ्नो सक्रियता बढाएपनि चोरले ‘च्यालेन्ज’ गरेकाछन् । इटहरीको १० नं. वडामा २० गते एकैरात ४ वटा घरमा चोरी भयो ।
यस्तै २१ गते नै इटहरी ६ स्थित संगित चौकको एक होटल चोरी गदै गर्दा सिसिटिभीको सहयोगबाट रंगेहात एक जना मोबाइल चोर पक्राउ परे । ६ नं. वडामा यो होटलसँगै करिब ४ वटा पसल र एक घरमा चोरी भइसकेको छ । करिब एक महिनामा नगरमा २७ वटा चोरीका घटना सार्वजनिक भइसकेका छन् ।
रात परेपछि आजकल इटहरीवासीलाई असार साउनको बाढी सगै चोरीको चिन्ताले थप त्रसित बनाएको छ । प्रहरीलाई घटनाको बारेमा बुझदा अनुसन्धान भइरहेको मात्र भन्ने गरेको स्थानीयको गुनासो छ ।
इटहरीका व्यवसायी मणि गुरुङले मुख्य चौक आसपास चोरीका घटना हुनु प्रहरीको ‘गैरजिम्मेबारी’ भएको बताउनुभयो । मुख्य चौक नजिक रहेको संगित चौकमा यस अघि पनि चोरी हुनुले प्रहरी चोरीको बिषयमा ‘सिरियस’ नभएको आशंका बढेको उहाँको भनाइ छ ।
नागरिक समाज इटहरीका अध्यक्ष कमलेश पौडेलका अनुसार चोरी बढ्नुले इटहरीमा सुरक्षा चुनौती बढेको बताए । चोरीका घटना बृद्धि भएको बिषयमा नागरिक समाज इटहरीले इलाका प्रहरी कार्यालय इटहरीलाई शनिबार ध्यानाकर्षणसमेत गराएको छ ।
इटहरीका डिएसपी शिवकुमार श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाउदै चोरीका घटना नियन्त्रणमा लिन गम्भीर ध्यानाकर्षण गराएको हो । दुई महिना देखि श्रृङखलावद्ध रुपमा चोरी बढेको भन्दै नागरिक समाजको गम्भीर ध्यानाकर्षण भएको बताउदै समाजको शान्ति सुरक्षा कायममा सचेत हुन प्रहरीलाई आग्रह गरेको छ ।
इटहरीको २०, १०, ६, ५ र २ नं. वडामा भएको चोरीमा संलग्नहरुको बिषयमा गहन अनुसन्धान गर्न नागरिक समाज इटहरीका अध्यक्ष कमलेश पौडेलले माग गरे ।
बैशाख यता इलाका प्रहरी कार्यालय इटहरीमा ४५ बढी चोरीका घटना भएको उजुरी प्रहरीमा परेको छ । स–साना चोरीका उजुरी त प्रहरीमा पर्दैनन् । प्रहरी भने चोरीका घटना नियन्त्रणमा समस्या भइरहेको निरिहता प्रकट गर्छ । ‘कहिले चोर भेटिन्न, चोर भनेर समात्दा चोरी भएको सामान फेला पर्दैन, सामान फेला नपरे अदालतले छाडिदिन्छ,’ इटहरीका डिएसपी श्रेष्ठले भन्नुभयो, ‘कहिले चोर र सामान दुवै फेला पर्छन्, तर पीडित भेटिंदैनन ।’
अहिलेसम्म ४० बढी व्यक्तिलाई चोरीको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ । चोरीमा प्राय सडक बालबालिका, भारतीय घुमन्ते र प्रोफेसनल व्यक्ति संलग्न भएको प्रहरीको बुझाइ छ । यो समाचार आजको जनविद्रोह दैनिकले छापेको छ ।