पूर्वाञ्चल खबर
विराटनगरस्थित संघको आफ्नै कार्यालय भवनमा आयोजित कार्यक्रममा व्यवसायी तथा जनप्रतिनिधिहरूले चाडपर्वले आपसी एकता र सामाजिक सम्बन्धलाई बलियो बनाउनेमा जोड दिएका छन्।
कार्यक्रमकी प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले नेपाली मौलिक चाडपर्वहरूले समाजमा आपसी भाइचारा, मेलमिलाप र सहिष्णुता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले यस्ता अवसरले व्यावसायिक व्यस्तताका बीच पनि एक(आपसमा खुसी बाँड्ने अवसर जुटाउने धारणा राखिन्।
त्यसैगरी, कार्यक्रममा बोल्दै नेपाल औषधि व्यवसायी संघका केन्द्रीय सदस्य प्रदीप दास र कोशी प्रदेश अध्यक्ष धनबहादुर काफ्लेले चाडपर्वहरूले समाजमा सामाजिक सद्भाव र एकता कायम राख्न मद्दत पुग्ने बताए। उनीहरूले नागरिकको स्वास्थ्य सेवामा प्रत्यक्ष जोडिएका व्यवसायीहरूले सामाजिक उत्तरदायित्वलाई पनि सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए।
संघका मोरङ अध्यक्ष देशबन्धु ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले चाडपर्वले पेसागत एकता र आपसी सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने बताएका थिए। कार्यक्रममा जिल्लाका औषधि व्यवसायीहरूको सहभागिता रहेको थियो।