मेलामा उपभोक्ताको देखियो तिव्र आकर्षण, जोगबनी जाने पुरानो चलन तोडियो
पूर्वाञ्चल खबर
२८ आश्विन २०८३, बुधबार ०६:२७
9
Shares
विराटनगर / विराटनगरस्थित जैन भवनमा विराट व्यापार संघको आयोजनामा असोज २२ गतेदेखि ३० गतेसम्म चालु रहेको विराट ट्रेड फेयर–२०८३ मा उपभोक्ताको भीड दिनानुदिन बढ्दै गइरहेको छ । फेस्टिव मूडको रनाहामा उपभोक्ताको मेलाप्रतिको क्रेज निरन्तर बढीरहेको पाइएको छ । अवलोकनकर्ता तथा उपभोक्ताहरूको अत्याधिक भीडका कारण मेला थेगिनसक्नु रहेको छ ।
रात्रीकालिन सांस्कृतिक कार्यक्रममा त झनै खुट्टा टेक्ने ठाउँ हुँदैन । रचना रिमालदेखि एलिना चौहानसम्मका राष्ट्रिय एवं चर्चित कलाकारको सहभागिताले मेला निकै आकर्षक बनेको छ । मेलामा १३० बढी स्टल छन् । स्टलले आफ्नो गच्छे अनुसार सहुलियतपूर्ण दरमा सामानको प्रदर्शनी एवं बिक्री वितरण गर्दै आइरहेको छ ।
घरेलु तथा औद्योगिक उत्पादनहरू एउटै स्थानमा सुलभ मूल्यमा उपलब्ध भएकाले उपभोक्ताहरू हर्षित देखिएका छन् । स्टल संचालकलाई उपभोक्तासँग बोल्नेसम्मको फूर्सद नहुँदा स्टल संचालक फुरूङ्ग बनेका छन् । अटोमोबाइलदेखि स्थानीय उत्पादन बिक्री गर्ने स्टलहरूमा उपभोक्ताको बाक्लो घुइँचो देखिएको छ ।
विगतका वर्षहरूमा चाडपर्वको समयमा सीमावर्ती भारतीय बजार जोगबनी जाने प्रवृत्ति बढी हुने गरेकोमा यसपटक मेलाका कारण विराटनगरकै स्थानीय बजार चलायमान र गुल्जार बनेको छ । जोगबनी जाने प्रवृत्तिमा अंकुश लाग्नु स्थानीय बजारका लागि शुभ देखिएको छ । हालसम्म ६० हजार अवलोकनकर्ताले मेलाको भ्रमण गरिसकेको अनुमान गरिएको छ । संघका अध्यक्ष प्रमोद जिन्दलले मेला सोचेभन्दा बढी सफल भएको बताए । उनले मेला अवलोकनका लागि विराटनगर र आसपासका क्षेत्रमात्र नभई इटहरी, इनरूवा, राजविराज, काकडभित्तादेखि समेत उपभोक्ता आउने गरेको बताए । बालबालिका रोबोटसँग हात मिलाएर दंग पर्ने गरेको जिन्दलको कथन थियो । जिन्दलले चाडवाडको बेला किनमेलका लागि जोगबनी जाने पुरानो चलनलाई केहि हदसम्म मेलाले तोडेको बताए ।
निवर्तमान अध्यक्ष अंशु बञ्जाराले मेलाको अप्रत्यासित सफलताले आफूहरू उत्साहित भएको बताए । संघका महासचिव महेन्द्र खड्का र मेला संयोजक श्यामलाल पौडेल ’भावेश’ ले समय थप्नका लागि उपभोक्ता तथा व्यवसायीहरूबाट माग आएको जानकारी दिए ।
हस्तकालदेखि ललीपप, छुर्पी, घ्यू, पुष्टकारी, बम्बईसन, मह, फर्निचर, पानीको स्टलमा उपभोक्ताको भीड देखिने गरेको छ । मेलाले नेपाली उपभोक्ताहरूलाई स्वदेशी तथा घरेलु उत्पादनप्रति आकर्षित गराउनुका साथै सीमावर्ती बजारमा जाने रकमलाई रोकेर स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन ठूलो योगदान पु¥याएको बजार विश्लेषकको कथन छ ।