पूर्वाञ्चल खबर
कारागारभित्र लागुऔषधसहित अवैध वस्तु रहेको सूचनाका आधारमा खानतलासी र निरीक्षणका लागि पुगेको टोलीलाई कैदीबन्दीले भित्रैबाट ताला लगाएर रोकेका हुन् । प्रमुख जिल्ला अधिकारी युवराज कटेल, जिल्ला प्रहरी प्रमुख एसपी कविता कटुवालसहितको टोली सोमबार बिहान सबेरै कारागार पुगेको थियो । तर, बी ब्लकका ५ सय ६३ जना कैदीबन्दीले प्रशासनिक टोलीलाई अवरोध गर्दै भित्र पस्न दिएनन् ।
उनीहरूले कारागारको छतमा चढेर टायर बाल्नुका साथै प्रशासनविरुद्ध चर्को नाराबाजी गरेका थिए । कैदीबन्दीले जिल्ला सुरक्षा समिति र कारागार प्रशासनको विरोध गरे पनि प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको पक्षमा भने नाराबाजी गरेका थिए ।कारागारभित्रैबाट बाहिरी गेटमा समेत हुलहुज्जत गर्ने प्रयास भएको थियो ।
सरुवाको त्रास
सुरक्षा स्रोतका अनुसार यो तनावको मुख्य कारण केही कैदीबन्दीको स्थानान्तरण (सरुवा) गर्ने तयारी हो । कारागारभित्र समानान्तर सत्ता चलाइरहेको आरोप लागेका र केही समयअघि पक्राउ परेर छुटेका अभिषेक गिरीसँग निकट रहेका करिब १५ जना कैदीबन्दीलाई अन्यत्र सार्ने तयारी प्रशासनले गरेको थियो । यही सूचना पाएपछि गिरी पक्षधर नाइके र भाइनाइकेहरूले सरुवा रोक्न दिनभरी आन्दोलन गरेको सुरक्षा निकायको निष्कर्ष छ ।
कैदीबन्दीले कारागार प्रशासनलाई विगत चार दिनदेखि नै भित्र प्रवेश गर्न नदिएको खुलेको छ । आइतबार पनि विपश्यना ध्यान शिविरको स्थान निरीक्षण गर्न पुगेको प्रजिअ नेतृत्वको टोलीलाई उनीहरूले अवरोध गरेका थिए । ‘केही दिनदेखि कारागार प्रशासनले समेत भित्र प्रवेश पाएको छैन, कैदीबन्दीले भित्रबाटै तालाबन्दी गरेर अवरोध गरिरहेका छन्,’ कारागार प्रशासक राजन घिमिरेले भने ।
प्रमुख जिल्ला अधिकारी कटेलले कैदीबन्दीको कल्याणका लागि कार्यक्रम सञ्चालन गर्न खोज्दा अवरोध भएको बताए । उनले अनुशासन कायम नभए बल प्रयोग गरेर भए पनि दोषी कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गरिने चेतावनी दिएका छन् ।
कुल १ हजार २ सय २८ कैदीबन्दी रहेको यस कारागारमा पछिल्लो समय सुरक्षा चुनौती बढेको छ । सोमबार साँझपख नाराबाजी केही मत्थर भए पनि कारागारभित्र प्रशासनको पूर्ण नियन्त्रण अझै स्थापित हुन सकेको छैन । सुरक्षा निकायले अब नयाँ रणनीति बनाएर अघि बढ्ने तयारी गरेको छ ।