पूर्वाञ्चल खबर
विराटनगर/ अर्थमन्त्री स्वर्णिम वाग्लेले आज प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटबाट कोशी प्रदेशमा अत्यधिक लाग मिलेको छ ।
प्रस्तुत बजेटले उद्यम व्यवासयलाई राहत, व्यक्तिगत कर घटाएको, ११ तहको भन्सार सात तहमा झारेको, कोशी टप्पु, २७५ थान पुल, एक हजार भन्दी बढी किमी सडक बाटोमा स्तरोत्रति सहित कालोपत्रे गर्ने, तीन वर्षभित्र हुलाकी राजमार्गको अधुरा काम सम्पत्र गर्ने, प्रदेशको प्रमुख अस्पताललाई व्यवस्थित एवं स्तरोत्रति गर्ने, , कोशी करिडोर निर्माण गर्ने, झापाको मेचीनगर नगरपाकिामा १ सय घर निर्माण गर्ने, ढल्केवर सुनसरी इनरुवाको प्रशासन लाईनलाई व्यवस्थि तगर्ने जस्ता कामले कोशी प्रदेशका जनता उत्साहित बनेका छन् ।बजेटमा सुनसरी मोरङ सिँचाई आयोजनाको मर्मत सम्भार गर्ने, कोशीका मझौला नदीलाई व्यवस्थापन गर्ने, गिरिजाप्रासद कोइराला खेलमैदानलाई स्तरोत्रति गर्ने र कोशी प्रदेशमा पनि अपाङ्गगता पुर्नस्थापना केन्द्र स्थापना, भारतको बथनहा र मोरङको कटहरी रेलवे लाइन सञ्चालन जस्ता कार्यक्रमले बजेटप्रति आम नागरिक खुशी व्यक्त गरेका छन् ।
बजेटले आगामी आर्थिक वर्षमा आर्थिक वृद्धि दर सात प्रतिशत र छ प्रतिशतमा मूल्य वृद्धि कायम राख्ने सरकारका योजना र लक्ष्यले सर्वसाधारण जनता पनि खुशी भएका छन् ।
बजेटका सम्बन्धमा कोशी प्रदेशका पर्यटन , वन तथा वातावरणमन्त्री भीम पराजुलीले वर्तमान बजेटले यस क्षेत्रको पर्यटन क्षेत्रमा खासै चासो नराखेको प्रतिक्रिया दिए । उनले केही क्षेत्रहरु हलेसीदेखि वराहक्षेत्रको धार्मिक पर्यटकीय क्षेत्रको विकासका सम्बन्धमा उल्लेख गरिएको बताउँदै बजेट भोली कार्यान्वयन तहमा आउँदा यसको आकार देखिने बताए ।
मन्त्री पराजुलीले सरसर्ती हेर्दा बजेट राम्रो देखिए पनि अत्यन्त महत्वकांक्षी देखिएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले नयाँ बजेटमार्फत सरकारले सुशासन र आर्थिक पुनरुत्थानलाई केन्द्रमा राख्दै शिथिल बनेको निजी क्षेत्रको मनोबल उकास्ने र लगानीमैत्री वातावरण निर्माण गर्ने कार्य गरेको बताए । उनले प्रस्तुत बजेटमा निजी क्षेत्र, नवउद्यम र औद्योगिक विकासका लागि व्यवस्थाहरु गरिएकोमा हामी उत्साहित भएको बताए ।
अध्यक्ष राउतले प्रस्तुत बजेमा अर्थतन्त्रको स्वरुप फेर्ने गरी ल्याइएको २७३ वटा वस्तुमा भन्सार दर घटाउनुका साथै औद्योगिक कच्चा पदार्थमा एकतह मुनि भन्सार दर लाग्ने, ३६० वटा वस्तुमा अन्तःशुल्क खारेज गर्ने, व्यक्तिगत आयकरको सीमा रु १० लाख कायम गरिने, उधारो असुली कानून ल्याउने जस्ता कार्य उत्कृष्ट रहेको बताए ।उनले सडक, पूर्वाधार आदि लगायतका करलाई एकीकृत गरी हरित कर लगाउने, देशको पहिलो एआइ कम्प्यूटर स्थापना गरिने, विदेशी लगानी फिर्ताको लागि राष्ट बैंकसँग स्वीकृत लिनु नपर्ने, दुई करोडसम्म पूँजी लगानी गर्ने कृषकलाई ४० प्रतिशत अनुदानको व्यवस्था लगायतका कुराहरु सकारात्मक देखिएका छन् ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले वर्तमान बजेटले उद्योगी व्यवसायीहरुलाई समृद्ध बनाउनका साथै धेरै परिवर्तन गरी क्रान्तिकारी बजेट आएको बताए । उनले वर्तमान बजेटले उद्योग व्यवायीहरुलाई चलायमान बनाउन यसले महत्वपूर्ण योगदान दिनुका साथै अन्तःशुल्क हट्नु , कच्चा पदार्थमा भन्सार महसुल कमले सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रणमा सहयोग पुग्ने बताए।
नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य नवीन रिजालले वर्तमान बजेट नीजि क्षेत्र मैत्री देखिएको बताए ।
नेपाल उद्योग व्यापार संघका पूर्व अध्यक्ष महेश जाजुले आज सार्वजनिक गरिएको बजेट नीजि क्षेत्रको लागि नयाँ अध्याय भएको प्रतिक्रिया दिए । उनले बजेटले मुलुकको आर्थिक क्षेत्रमा फड्को मार्ने विश्वास व्यक्त्त गर्दै ३६० आइटम अन्तशुल्क हटाइएको,२७५ वटा कच्चा पदार्थमा भन्सार महशुल कम हुने कार्यले मुलुकको उद्योगीकरणमा सहयोग पुग्ने बताए ।
नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवन सारडाले वर्तमान दुई तिहाईको सरकारको मनोबल उच्च रहेकोले छ प्रतिशत मुद्रास्र्फीती र सात प्रतिशत आर्थिक वृद्धिदर होइन १० प्रतिशत समेत हुन सक्ने बताए । दुई ठूला देशको बीचमा रहेको हाम्रो मुलुकको तराई,पहाड र हिमाल क्षेत्र समेत भएकोले घोषणा गरि अनुसार भन्दा बढीको आर्थिक वृद्धि कायम हुने उनले बताए ।
नेपाल उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साहले नेपाल टेलिकमको शेयर ३४ प्रतिशत नागरिकलाई प्रदान घोषणाले टेलिकमको सुधार हुने विश्वास व्यक्त गर्दै विराटनगरको विकासमा बजेटमा केहि नआएकोमा दुःख व्यक्त गरे ।
नेपाल उद्योग व्यापार संघका उपाध्यक्ष अनिल सारडाले वर्तमान वजेटले उद्योगी व्यवसायीहरुलाई छुटै छुटको व्यवस्था एकदम राम्रो रहेको छ भन्दै मध्यम आय भएका व्यक्तिहरुको कर छुट हुनु राम्रो पक्ष भएको बताए ।उनले बजेटले कर परीक्षण पाँच वर्षलाई घटाएर तीन वर्ष राखिएकोमा राम्रो पक्ष भएको बताए ।