AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङमा ‘‘सुरक्षित चालक’ अभियान तीव्र : अब ज्याकेट र डिजिटल नम्बरकै आधारमा सफारी चालकको पहिचान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ माघ २०८२, सोमबार १७:२८
36
Shares
विराटनगर / विराटनगरको सडकमा वर्षौँदेखि देखिँदै आएको सिटी सफारीको अव्यवस्थित र असुरक्षित यात्रालाई अन्त्य गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले ‘सुरक्षित चालक’ अभियानलाई तीव्रता दिएको छ । सफारी सञ्चालनलाई कानुनी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यका साथ सोमबार विराटनगरमा आयोजित एक विशेष कार्यक्रमबीच ५ सय जना चालकलाई ‘सुरक्षित चालक’ लेखिएको विशेष ज्याकेट वितरण गरिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी विनोद घिमिरे, कोशी प्रदेश ट्राफिक प्रमुख एसपी दीपक गिरी र जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कविता कटुवालले चालकहरूलाई ज्याकेट हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै डिआइजी घिमिरेले सवारी दुर्घटना न्यूनीकरणका लागि यो अभियान कोशी प्रदेशभर प्रभावकारी रूपमा सञ्चालन गरिनुपर्नेमा जोड दिए । मोरङबाट सुरु भएको यो नमुना कार्यलाई प्रदेशका अन्य जिल्लामा पनि विस्तार गरिने उनको भनाइ थियो । त्यस्तै, कोशी प्रदेश प्रहरी ट्राफिक प्रमुख एसपी गिरीले अभियानलाई पूर्ण रूपमा कार्यान्वयन गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

यो अभियानअन्तर्गत अब विराटनगरमा चल्ने प्रत्येक सफारी चालक ट्राफिक प्रहरीको कम्प्युटर प्रणालीमा अनिवार्य दर्ता हुनुपर्नेछ । नेपालमै पहिलोपटक सुरु गरिएको यस डिजिटल अभिलेख प्रक्रियापछि चालकले एउटा विशिष्ट दर्ता नम्बर प्राप्त गर्नेछन् । सोही नम्बर ‘सुरक्षित चालक’ लेखिएको ज्याकेटको पछाडि स्पष्ट देखिने गरी छापिएको छ ।

मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार, अब यात्रुले चालकको नाम वा सफारीको लामो नम्बर खोजिरहनु पर्दैन । ज्याकेटमा रहेको दर्ता नम्बरकै आधारमा चालकको सम्पूर्ण पहिचान खुल्नेछ, जसले गर्दा कुनै समस्या परेमा वा सामान छुटेमा यात्रुले सहजै उजुरी गर्न सक्नेछन् । दर्ता हुनुअघि चालकले अनिवार्य रूपमा ट्राफिक नियम र सुरक्षासम्बन्धी अनुशिक्षण तालिम लिनुपर्ने व्यवस्था गरिएको छ ।

विराटनगर भारतीय सीमा नजिक भएकाले ठूलो संख्यामा भारतीय नागरिकले अवैध रूपमा सफारी चलाउँदा सुरक्षा जोखिम र आर्थिक पलायनको समस्या देखिएको थियो । यसलाई रोक्न ट्राफिक प्रहरीले दर्ताका लागि नेपाली नागरिकता र सवारी चालक अनुमतिपत्र लाइसेन्स अनिवार्य गरेको छ । यस कदमले वास्तविक नेपाली चालकको रोजगारी सुरक्षित हुने र आपराधिक गतिविधिमा सफारीको प्रयोग हुन नपाउने विश्वास लिइएको छ ।

विराटनगरमा करिब ८४ प्रतिशत चालकसँग लाइसेन्स नभएको तथ्याङ्क सार्वजनिक भएपछि सरकारले नीतिगत सुधार समेत गरेको छ । धेरैजसो चालकहरू निरक्षर वा कम पढेका भएकाले लिखित परीक्षा पास गर्न नसक्ने समस्यालाई सम्बोधन गर्दै कोशी प्रदेश सरकारले नियमावली संशोधन गरेको छ । अब सफारी चालकले लिखित परीक्षा दिनु नपर्ने र प्रयोगात्मक ९ट्रायल० परीक्षा पास गरे पुग्ने व्यवस्था गरिएको छ । यसले हजारौँ श्रमिक चालकलाई कानुनी दायरामा आउन सहज बनाएको छ ।

गत पुस १७ गतेबाट सुरु भएको यो अभियानमा हालसम्म ३ सय ५० भन्दा बढी चालक दर्ता भइसकेका छन् । ट्राफिक प्रहरीले आगामी माघ महिनादेखि लाइसेन्स, ब्लुबुक र सुरक्षित चालकको पोसाकबिना सफारी चलाउन पूर्ण प्रतिबन्ध लगाउने तयारी गरेको छ । ज्याकेटको दुरुपयोग भएमा वा अरूलाई हस्तान्तरण गरेमा कडा कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ ।

सफारी चालकको तर्फबाट भगवान बस्नेतले यो अभियानले आफूहरूको पेसालाई मर्यादित र सुरक्षित बनाउने भन्दै सबै चालकले यसलाई अनिवार्य पालना गर्नुपर्ने बताए । यो अभियानले सडक सुशासन कायम गर्न र हजारौँ श्रमिक परिवारको जीवनमा स्थायित्व ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने ट्राफिक प्रहरीको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर