पूर्वाञ्चल खबर
एकातिर नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला आफ्नो ‘अपराजित विरासत’ जोगाउने धुनमा छन् भने अर्कोतिर एमालेका हस्ती विनोद ढकाल १७ वर्षअघिको हारको बदला लिने दाउमा छन् । तर, यो ‘हेभिवेट’ भिडन्तमा नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नयाँ पुस्ताका उम्मेदवारको प्रवेशले चुनावी अंकगणितलाई थप पेचिलो बनाइदिएको छ ।
यो क्षेत्रको चुनावी इतिहास आफैँमा अनौठो छ । २०४८ सालयताका आठवटा निर्वाचनमध्ये सातपटक यहाँका मतदाताले नयाँ प्रतिनिधि छानेका छन् । ‘चलायमान जनमत’ भएको यस क्षेत्रमा यसपटक अनुभवी पुराना नेता र वैकल्पिक राजनीतिको नारा लिएर आएका नयाँ पुस्ताबीचको प्रतिस्पर्धा मुख्य आकर्षण बनेको छ ।
१७ वर्षपछिको ‘रिम्याच’
कांग्रेसका डा. शेखर कोइराला र एमालेका विनोद ढकालबीच १७ वर्षपछि चुनावी मैदानमा जम्काभेट हुँदैछ । यसअघि २०६५ को उपनिर्वाचनमा कोइरालाले ढकाललाई पराजित गरेका थिए । २०७९ को निर्वाचनमा क्षेत्र नम्बर ४ बाट पराजित ढकाल यसपटक कोइरालाको किल्ला भत्काउन ६ नम्बर क्षेत्रमा सरेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सांगठनिक रूपमा फरक धारमा रहे पनि अन्तिम समयमा टिकट हात पारेका ढकालका लागि यो निर्वाचन राजनीतिक अस्तित्वको ‘अग्निपरीक्षा’ सरह छ । अर्कोतिर, २०७९ मा एमालेका लालबाबु पण्डितलाई फराकिलो मतान्तरले हराएका कोइराला यसपटक पनि आफ्नो पकड कायमै राख्ने रणनीतिमा छन् ।
यसपटक चुनावी प्रतिस्पर्धा केवल दुई ठूला दलमा मात्र सीमित छैन । रास्वपाकी रुविना आचार्य र नेपाली कम्प्युनिष्ट पार्टी (नेकपा) का मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारीले शहरी र युवा मतदाताको रुझान कता जान्छ भन्ने कौतुहलता जगाएको छ । खासगरी विराटनगरका ४, ५, ६, ७, ९, ११ र १२ नम्बर वडाका शिक्षित र युवा मतदाताको मतले हारजितमा निर्णायक भूमिका खेल्ने देखिन्छ ।
‘जेन–जी’ पुस्ताको प्रतिनिधित्व गर्दै स्वतन्त्र उम्मेदवारी दिएका युवाहरूको सक्रियताले पुराना दलहरूलाई रक्षात्मक बन्न बाध्य पारेको छ । यद्यपि, अन्तिम समयमा केही युवा उम्मेदवारले नाम फिर्ता लिए पनि उनीहरूले उठाएका एजेन्डाले चुनावी माहोललाई प्रभाव पारिरहेको छ ।
मोरङ–६ का मतदाताले विरलै मात्र कुनै नेतालाई दोहो¥याएर पत्याएका छन् । २०४८ मा कांग्रेसका श्यामलाल तबदार, २०५१ मा एमालेका गुरु बराल र २०५६ मा कांग्रेसका हरिनारायण चौधरीले यो क्षेत्रको नेतृत्व गरे । २०६४ मा मधेशी जनअधिकार फोरमका विजयकुमार गच्छदार विजयी हुँदा कांग्रेसका कोइराला पराजित भए । तर, गच्छदारले सो क्षेत्र छाडेपछि २०६५ को उपनिर्वाचन र २०७० को संविधानसभा निर्वाचनमा कोइरालाले लगातार जितेर इतिहास तोडेका थिए ।
२०७४ मा वाम गठबन्धनका तर्फबाट एमालेका लालबाबु पण्डितले कोइरालालाई ६ सय ७५ मतको झिनो अन्तरले पराजित गरे पनि २०७९ मा कोइरालाले पुनः विरासत फर्काएका थिए ।
२०७४ मा पण्डितले ३३ हजार ९४१ मत ल्याएर निर्वाचित भएका थिए भने कोइरालाले ३३ हजार २६६ मत पाएका थिए । २०७९ मा कांग्रेसका कोइराला ३५ हजार २२४ मत पाएर जित हासिल गर्न सफल भए । एमालेका पण्डितले २२ हजार ९४६ मत पाएर दोस्रो बन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधान ९ हजार १४० मतसहित तेस्रो बनेका थिए ।
२०७९ को निर्वाचनको समानुपातिक मतलाई आधार मान्दा यहाँ कांग्रेस पहिलो (२३,७१० मत), एमाले दोस्रो (१९,३८९ मत) र रास्वपा तेस्रो (११,५२६ मत) स्थानमा छन् । राप्रपा र माओवादीको मत पनि यहाँ उल्लेख्य छ । यसपटक १ लाख ३७ हजार ८३२ मतदाता रहेको यस क्षेत्रमा सुन्दरहरेचाको २ देखि ७ नम्बर वडा, बुढीगंगाको १ देखि ७ गरि सबै वडा र विराटनगरको ४, ५,६, ७, ९, ११ र १२ नम्बर गरी जम्मा २० वटा वडा पर्दछ ।