AArya
RUMPUM
animated ellipse animated ellipse

घरबाट निस्केको आधा घण्टामै नहरको डिलमा सिटी सफारी चालक दिनेशको हत्या

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ आश्विन २०८२, सोमबार ०७:५२
657
Shares

विराटनगर / शनिबार साँझ करिब ५ बजे सुनसरीको रामधुनी नगरपालिका–२, शिवनगरका ४७ वर्षीय दिनेश चौधरीले आफ्नो घरको आँगनबाट ‘एकैछिनमा आइहाल्छु’ भन्दै सिटी सफारी स्टार्ट गरे। घरमा उनकी श्रीमती पूजाको तयारी गर्दै थिइन्, र जेठो छोरा दिउँसो बुबाले किनिदिएको नयाँ साइकल हेरेर मख्ख थियो। तर, त्यो ‘एकैछिन’ कहिल्यै आएन। घरबाट निस्केको ३० मिनेटको अन्तरालमा, घरदेखि मात्र दुई किलोमिटर टाढा, सुनसरी–मोरङ सिँचाइ नहरको डिल उनको रगतले रंगियो।

त्यो आधा घण्टाभित्र के भयो ? यो प्रश्नले अहिले सिंगो शिवनगर गाउँलाई आतंकित र स्तब्ध बनाएको छ। परिवारका लागि खुशी खोज्न निस्किएका दिनेशको यात्रा यति छोटो र क्रूर होला भनेर कसैले सोचेको थिएन। घरबाट निस्केको केही बेरमै, करमनीया टोलस्थित नहरको एकान्त बाटोमा मोटरसाइकलमा सवार तीन अपरिचित व्यक्ति उनको लागि काल बनेर आइपुगे।

घटनाका एक मात्र प्रत्यक्षदर्शी, छिमेकी नरेश चौधरीका अनुसार, उनले दिनेश र ती तीन व्यक्तिबीच चर्को स्वरमा भनाभन भइरहेको देखेका थिए। केही अनिष्टको आशंकामा उनी नजिक पुगेर सोधपुछ गर्न खोज्दा, एक आक्रमणकारीले उनलाई झम्टिँदै धम्की दियो, ‘तँ यहाँबाट खुरुक्क गइहाल, नत्र तँलाई पनि यहीँ सिध्याइदिन्छौं।’

यो धम्कीपछि ज्यान जोगाउन भागेका नरेशले सिधै दिनेशको घरमा खबर पुर्‍याए। तर, जबसम्म उनी परिवारका सदस्यलाई लिएर घटनास्थलमा फर्केर आइपुगे, त्यतिबेलासम्म त्यो ३० मिनेटको कहालीलाग्दो समयचक्र पूरा भइसकेको थियो। आक्रमणकारीहरू आफ्नो अपराध कर्म सकेर फरार भइसकेका थिए। नहरको किनारमा दिनेश रगतको आहालमा लडिरहेका थिए, उनको प्राणपखेरु उडिसकेको थियो।

सुनसरी प्रहरी प्रमुख केशवकुमार थेवेका अनुसार प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धानलाई तीव्रता दिएको छ। उनको बायाँ छातीमा गहिरो प्वाल देखिएको छ, जसले गोली प्रहार वा धारिलो हतियार प्रयोग भएको हुनसक्ने संकेत गर्छ। प्रहरीले यो आक्रमण योजनाबद्ध थियो वा व्यक्तिगत रिसइबीको परिणाम हो भन्नेबारे विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ।

दिनेशको हत्याले उनको परिवारको मात्र होइन, सिंगो समुदायको शान्ति खोसेको छ। एक वर्षदेखि सिटी सफारी चलाएर परिवार पाल्दै आएका एक सोझा व्यक्तिको दिउँसै हत्या हुनुले स्थानीय सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ। उनको शव आइतबार पोस्टमार्टमपछि परिवारले अन्तिम संस्कार गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर