खबर पूर्वाञ्चल
महिला स्वास्थ्य सेवालाई थप विशिष्टीकृत र सुविधायुक्त बनाउने उद्देश्यले निर्माण गरिएको यो भवनको उद्घाटन आज काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा अच्युतप्रसाद वाग्लेले गरे ।
नेपालकै अत्याधुनिक ल्याप्रोस्कोपीक स्त्री तथा प्रसूति केन्द्रको रुपमा रहेको यस अस्पतालमा अप्रेशन थिएटरको संख्या २४ पुगेको छ। यसअघि विभिन्न शल्यक्रियाका लागि १९ वटा अप्रेशन थिएटर सञ्चालनमा रहेका छन् । यो नयाँ विस्तारसँगै अस्पतालले स्त्री तथा प्रसूति सेवाका लागि मात्रै ५ वटा अत्याधुनिक शल्यक्रिया कक्ष (अप्रेशन थिएटर), २ सय बेड क्षमताको वार्ड, ३० बेडको डिलक्स क्याबिन र छुट्टै गाइनो आइसीयू जस्ता विशिष्ट सुविधाहरू थप गरेको छ । यसले कोशी प्रदेश र आसपासका क्षेत्रका महिलाहरूका लागि गुणस्तरीय र सहज स्वास्थ्य सेवामा पहुँच बढाउने अपेक्षा गरिएको छ ।
सन् २०१४ मा स्थापना भएको विराट मेडिकल कलेज शिक्षण अस्पताल छोटो समयमै कोशी प्रदेशकै अग्रणी स्वास्थ्य संस्थाको रूपमा स्थापित भएको छ । स्त्री तथा प्रसूति जस्तो संवेदनशील सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन हामीले समर्पित भवन र अत्याधुनिक उपकरणसहितको सेवा विस्तार गरेको अस्पतालका अध्यक्ष तथा प्रोफेसर डा. ज्ञानेन्द्र मानसिंह कार्कीले बताए । उनले यस कदमले महिला बिरामीहरूलाई अझै उत्कृष्ट र सुरक्षित उपचार प्रदान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
अस्पतालमा १ सय बेड क्षमताको इमरजेन्सी विभाग सञ्चालनमा रहेको छ, जसमा स्त्री तथा प्रसूति आपतकालीन सेवा पनि समावेश छ । यसका साथै, अस्पताल नेपालकै अत्याधुनिक ल्याप्रोस्कोपिक स्त्री तथा प्रसूति केन्द्रको रुपमा पनि परिचित छ । हाल अस्पतालमा २० जनाभन्दा बढी विशेषज्ञ स्त्री रोग तथा प्रसूति चिकित्सकहरूको टोलीले सेवा प्रदान गर्दै आएका छन्, जसले बिरामीहरूलाई २४ सै घण्टा विशेषज्ञ सेवा सुनिश्चित गरेको छ ।
नवनिर्मित गाइनो वार्डको उद्घाटन गर्दै प्रमुख अतिथि तथा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा वाग्लेले विराट मेडिकल कलेजले पूर्वी क्षेत्रका बिरामीहरूलाई उत्कृष्ट सेवा प्रदान गरेर स्वास्थ्य क्षेत्रमा उदाहरणीय काम गरेको बताए । ‘विराट टिचिङ हस्पिटलले स्वास्थ्य सेवा र चिकित्सा शिक्षा दुवैमा गुणस्तर कायम राखेको छ । आउने दिनहरूमा पनि यसरी नै उत्कृष्ट कार्यलाई निरन्तरता दिनुहुनेछ भन्ने विश्वास लिएको छु,’ उनले भने ।
कार्यक्रमको अवसरमा अस्पतालका चिकित्सक, नर्स तथा अध्ययनरत विद्यार्थीहरूका लागि प्राडा वाग्लेसँग एक अभिमुखीकरण कार्यक्रम समेत आयोजना गरिएको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरूले स्वास्थ्य क्षेत्रमा देखिएका अवसर र चुनौतीहरूका बारेमा आफ्ना जिज्ञासा राखेका थिए ।
सोही कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष तथा प्रोफेसर डा कार्कीले सरकारले लामो समयपछि मेडिकल कलेजहरूको एमबीबीएस कोटा बढाउने निर्णय गरेर स्वास्थ्य क्षेत्रमा सकारात्मक सन्देश दिएको बताए । उनले यसलाई ’१० वर्षपछिको आइस ब्रेक’ को संज्ञा दिँदै भने, ‘निजी क्षेत्रले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी र पूर्वाधार निर्माण गरेर ठूलो फड्को मारेको छ । राज्यले १० वर्षअघि नै गर्नुपर्ने कोटा वृद्धिको निर्णय अहिले गरेको छ, यो अत्यन्तै राम्रो र स्वागतयोग्य पक्ष हो ।’ उनले यस निर्णयले देशमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा मद्दत पुग्ने धारणा राखे । यसका साथै, अस्पतालले बिरामीका आफन्त, चिकित्सक र कर्मचारीहरूको सुविधालाई ध्यानमा राख्दै आधुनिक र सुविधा सम्पन्न ‘विराट क्याफे’ पनि सञ्चालनमा ल्याएको छ ।
अस्पताल भवनको तल्लो तलामा सञ्चालित यो क्याफेटेरियाले सबैलाई सहज र स्वच्छ खाजा तथा खानाको सुविधा प्रदान गर्नेछ ।