खबर पूर्वाञ्चल
वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनका लागि आवश्यक रकम जुटाउन आफ्नो आत्मवृत्तान्त किताब बिक्री गर्दै विराटनगर आइपुगेका डा. पुनलाई एनसीडिएले विशेष सम्मान गर्नुका साथै उनको पुस्तक खरिद गरेको छ।
कार्यक्रममा बोल्दै एनसीडिए मोरङ शाखाका अध्यक्ष देशबन्धु ढकालले डा. महावीर पुन जस्ता प्रतिभाशाली आविष्कारकलाई सम्मान गर्न पाउँदा आफूहरू गौरवान्वित भएको बताए। ‘पुनजी राष्ट्रिय सम्पत्ति हुनुहुन्छ। उहाँको प्राविधिक ज्ञान र समर्पणले देशको विकासमा ठूलो योगदान पुर्याएको छ,’ ढकालले भने । उनले थपे, ‘हामीले उहाँको पुस्तक खरिद गरेर कृषि औजार कारखाना पुनर्सञ्चालनमा सानो भए पनि सहयोग गर्न पाउँदा खुसी छौं। एनसीडिए मोरङ शाखा र कोशी प्रदेश समितिले पुनको प्रयासलाई निरन्तर समर्थन गर्नेछ।’
एनसीडिए कोशी प्रदेश अध्यक्ष धनबहादुर काफ्लेले डा. महावीर पुनको संघर्ष र योगदानको उच्च मूल्यांकन गर्दै भने, ‘पुनजीले देखाउनुभएको सपना र समर्पण नेपालका युवा पुस्ताका लागि अनुकरणीय छ। सरकारले यस्ता प्रतिभाशाली व्यक्तिहरूलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टै निराश पार्ने काम गरेको छ।’ काफ्लेले आगामी दिनमा पनि पुनको प्रयासलाई सहयोग गर्न औषधी व्यवसायीहरू तयार रहेको आश्वासन दिए।
कार्यक्रममा बोल्दै डा. पुनले कृषि औजार कारखाना सञ्चालन गर्न प्राविधिक सहयोग मागेका नेपाल सरकारले कारखाना चलाउन राष्ट्रिय आविष्कार केन्द्रलाई फसाएको आरोप लगाए। ‘प्राविधिक सहयोगका लागि सम्झौता गरेर कृषि औजार कारखानामा मर्मत कार्य सुरु गरेको केही महिनामा सरकारले सरकारबाट नै १० प्रतिशत ब्याज दरमा ऋण लिएर कारखाना चलाउनुपर्ने सर्त अघि सार्यो,’ पुनले भने ।
डा. पुनले थपे, ‘सरकारले बोली फेरेको रीसको झोकमा कारखाना चलाउने जिम्मा लिने भनिदिएँ। आफूले बोलेको कुरा पूरा गर्नुपर्छ भन्ने विश्वासले अहिले कारखाना चलाउन आवश्यक रकम जुटाउन आफैंले लेखेको आत्मवृत्तान्त किताब बिक्री गर्दै हिँडेको छु। मलाई यस अभियानमा साथ दिनुभएकोमा एनसीडिए मोरङ शाखाप्रति आभार व्यक्त गर्दछु।’
सोही अवसरमा, एनसीडिए मोरङ शाखाले प्रकाशन गरेको भित्तेपात्रो राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले औपचारिक रूपमा लोकार्पण गरेका छन्। भित्तेपात्रोमा औषधी व्यवसायसँग सम्बन्धित महत्त्वपूर्ण जानकारीहरू समावेश गरिएको अध्यक्ष ढकालले बताए।
कार्यक्रममा औषधी व्यवसायीहरुले पनि महावीर पुनको प्रतिभा र समर्पणको प्रशंसा गर्दै सरकारले यस्ता प्रतिभालाई सहयोग गर्नुपर्ने बताए।
सं
घका मोरङ अध्यक्ष देशबन्धु ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा औषधी व्यवसायीहरू, नागरिक समाजका अगुवाहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।