खबर पूर्वाञ्चल
अध्यक्षमा वर्तमान उपाध्यक्ष गणेश पाण्डेलाई सुनिश्चित गर्न बालुवाटारको निर्देशनमा नेताहरूले हस्तक्षेप गरेका छन् । अध्यक्षका अर्का प्रत्यासी राजेश राईलाई रोक्न अध्यक्ष मण्डलले मनोनयन पत्र नै नदिएको हो ।
उपाध्यक्ष राईले निर्वाचन माग गरिरहेका बेला एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम नेतृत्वको अध्यक्षमण्डलले मनोयन पत्र नै नदिई निर्वाचनमा जानबाट रोकेको हो ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशन भन्दै प्रचार विभाग प्रमुख गौतम र जनसंगठन समन्वय संम्यन्त्रका प्रमुख भानुभक्त ढकालले नयाँ नेतृत्वमा दाबी गरिरहेका राई पक्षलाई पाखा लगाउने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको थियो ।
जसअनुसार आज अपरान्ह ४ बजेर २० मिनेटसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने तालिका तय गरिएको छ । तर, सबैभन्दा अनौठो कुरा चाहिँ अन्तिम नामावली सार्वजनिक भएको १० मिनेट अर्थात् ४ बजेर ३० मिनेटमा अन्तिम परिणाम घोषण गर्ने भनिएको थियो।
एमाले यहाँनिर चौतारीको निर्वाचन कार्यक्रममै कुरा गरेको छ । निर्वाचन कार्यक्रममा मतदान प्रक्रिया गायब बनाएको एमालेले अध्यक्षसहितका नयाँ नेतृत्वको सूची भित्तामा टाँस्ने तयारी गरेको छ । अहिले अध्यक्षसहित ९ जना पदाधिकारी गरि ९९ सदस्यीय केन्द्रीय कमिटीको सूचीलाई अन्तिम रूप दिइँदैछ ।
आइतबार उद्घाटनका क्रममै अधिकांश नेताहरूले कुनै हालतमा चुनावमा जान नदिने बताएका थिए । चौतारीका इन्चार्ज गौतमले त कसैले बुरुक्क उफ्रिनुको अर्थ नभएको बताउँदै कारबाहीको चेतावनी दिएका थिए ।
पाण्डेलाई अध्यक्ष बनाउन यसअघि एमाले प्रचार विभागमा नियुक्त भएको १० दिनमै राजीनामा गर्न लगाइएको थियो । उता उपाध्यक्ष राईले निर्वाचनमा जानै पर्ने अडान राखे पनि उनीसहितका आकांक्षीलाई मनोनयन पत्र नै नदिई प्रतिस्पर्धामा निषेध गरिएको छ । यता, नयाँ कमिटी घोषणा नहुँदासम्मका अध्यक्ष गणेश बस्नेतले निर्वाचनमा जान नदिने बताउँदै चुनावको मागसहित हस्ताक्षर गर्नेलाई महाधिवेशनस्थलबाट निकाल्ने चेतावनी दिएका थिए । उनले यदि निर्वाचनमै जाने अवस्था आएमा बरू आफू आत्महत्या गर्न तयार रहेको बताएका थिए । त्यो भनाइलाई लिएर प्रतिनिधिमा तीव्र असन्तुष्टि देखिएको थियोे ।
यता मतदानमा सहभागी हुन नपाएपछी अधिकाँस प्रतिनिधि रुदै घर फर्किएका छन् ।