खबर पूर्वाञ्चल


आकर्षक रुपमा सजिएको रथमा राधाकृष्ण युगल जोडीलाई रथारोहण गराएर नगर परिक्रमा गराइन्छ ।
रथ गुड्ने ९ किलोमिटर लामो रुटमा ४३ स्थानमा रथ रोक्ने व्यवस्था मिलाइएको छ । रथ रोकिने स्थानमा श्रद्धालु भक्तजनहरूलाई राधाकृष्ण रथयात्राको लठ्ठा छुने, तान्ने र रथको दर्शन गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।
राधाकृष्ण रथयात्रालाई ऐतिहासिक बनाउन साँस्कृतिक झाँकीहरु निकालिएको छ। रथ यात्रालाई व्यवस्थित बनाउन प्राथमिक उपचार टोलीहरुसहित एम्बुलेन्सहरु साथै रहेका छन्।
अत्यधिक जनसहभागिता हुने रथयात्रामा प्रहरीले सुरक्षा सतर्कता पनि अपनाएको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले सम्भावित जोखिम नियन्त्रणका लागि सतर्कता अपनाइएको बताए । भिडभाडमा आपराधिक प्रवृत्तिका मानिसहरूबाट चोरी, लुटपाट, पाकेटमारीलगायतका अवाञ्छित गतिविधि हुनसक्ने भएकाले सर्वसाधारणलाई पनि सतर्कता अपनाउन उनले आग्रह गरे ।
प्रहरीले बहुमूल्य गरगहनाहरू नलगाउन, नगद र बहुमूल्य सामग्रीहरू साथमा नल्याउन, रथयात्राको मार्ग र समारोहस्थल वरपर सवारी साधन पार्किङ नगर्न समेत आग्रह गरेको छ ।