RUMPUM
animated ellipse animated ellipse

गाउँपालिकाका पूर्व–अध्यक्षले छिमेकीमाथि लखेटी–लखेटी आक्रमण, पक्राउ परेनन मुख्य आरोपी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ पुष २०७९, बुधबार १०:४१
441
Shares
विराटनगर / जग्गा विवादको निहुँमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका निवर्तमान अध्यक्षसहितको समूहले उनकै छिमेकीमाथि निर्घात कुटपिट गरेको छ।

गाउँपालिकाका निर्वतमान अध्यक्ष महेन्द्र यादवसहितको समूहले जग्गा विवादको निहुँमा मंगलबार बिहान ११ बजेतिर छिमेकीलाई लखेटी–लखेटी निर्घात कुटपिट गरेको हो। कुटपिटबाट एकै परिवारका सात जना घाइते भएका छन्। घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ।

यादवको समूहबाट घाइते हुनेहरूमा भोक्राहा नरसिंह गाउँपालिका–३ फुलचोकका ४५ वर्षीय राजकुमार मण्डल, सोही ठाउँका ५५ वर्षीय सत्यनारायण मण्डल, ३६ वर्षीय पवन मण्डल, ४५ वर्षीय सुवर्ण मण्डल, ४५ वर्षीय देवकीदेवी मण्डल, ७६ वर्षीय गौरी देवी मण्डल र २४ वर्षीया रन्जनाकुमारी मण्डल छन् । उनीहरूको उपचार विराटनगरस्थित न्यूरो हस्पिटलमा भइरहेको छ। घाइतेमध्ये सबैभन्दा गम्भीर अवस्था ४५ वर्षीय राजकुमार र पवनको छ।

राजकुमारको टाउकोमा रगत जमेको चिकित्सकले बताएका छन्। पूर्व अध्यक्ष यादवको आक्रमणबाट सत्यनारायणको दाहिने हात भाँचिएको छ। यस्तै पवनको टाउकोमा गहिरो चोट लागेको कारण ९ टाँका लगाउनुपरेको छ।

सुवर्णको देब्रे हात काटिएको छ भने गौरीदेवीको ढाडमा र रन्जना कुमारीको तिघ्रामा गहिरो चोट लागेको छ। घाइते हुनेहरू एकै परिवारका सदस्यहरू हुन्। उनीहरूमाथि आक्रमण गर्ने सबै महेन्द्र यादवका छिमेकी हुन्।

घाइतेका आफन्त देवकुमार मण्डलका अनुसार महेन्द्र यादवसहित, जीतनारायण यादव, लक्ष्मी यादव, जयप्रकाश यादव, दिपक यादव, राजकुमार यादव, रामदेव यादव, ढुनाइ यादव, विरेन यादव र ओमप्रकाश यादवले रड, भाटा, मुङग्रोले लखेटी लखेटी आक्रमण गरेको आरोप लगाएका छन्।

आक्रमणको आरोप लागेका महेन्द्र यादवले दाजु ढुनाइ यादवले वर्षौदेखि भोगचन गर्दै आएको आफ्नो जग्गा जोत्न जाँदा विपक्षीहरूले रोकेपछि झडप मात्र भएको बताए।

सुनसरी प्रहरी प्रमुख एसपी प्रभु ढकालले घटनाको अनुसन्धान गर्न घटनास्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाएको बताए । ‘झगडा हुने बितिक्कै प्रहरी टोली घटनास्थलमा पुगेको छ । अहिले जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली गएको छ,’ उनले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ ।’ अहिले घटनामा संलग्न भएकोले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान पनि सुरू गरिएको उनले बताए । पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले गोप्य राखेको छ । ‘अहिले हामीले अनुसन्धान सुरू गरिएको छ,’ एसपी ढकालले भने, ‘अनुसन्धान पवछि थप विषय खुल्नेछ ।’
((

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर