खबर पूर्वाञ्चल
आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई संविधानको धारा ७६ को (२) बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
एमालेसहित सात राजनीतिक दल, तीन स्वतन्त्रसहित १७० जना बढी सांसदको समर्थनमा दाहाललाई भण्डारीले प्रधानमन्त्री नियुक्त गरेको उनका प्रेस सल्लाहकार टिका ढकालले जानकारी दिए ।
आज दिउँसो प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पा पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन सहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।
स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहले पनि उनलाई समर्थन गरेपछि २७५ सदस्यीय प्रतिनिधिसभामा प्रचण्डले १७० सांसदको समर्थन पाएका छन् ।
प्रतिनिधसभामा निर्वाचनमा कुनै पनि एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार मिलिजुली सरकार बनाउन आज बेलुकी ५ बजेसम्मको समय दिएकी थिइन् ।
राष्ट्रपतिले दिएको समयभित्र प्रचण्डले १७० सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी पेश गरेका हुन् ।
अब प्रचण्डले प्रधानमन्त्रीका रुपमा भोली दिउँसो ४ बजे शपथ ग्रहण गर्ने राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए ।