साढे ३ करोडको गाडी भएको विराटनगरका मेयर नागेश कोइरालाले इन्धनको लोभले सरकारी गाडी नै चढ्ने घोषणा

खबर पूर्वाञ्चल, २९ श्रावण २०७९, आईतवार १६:१४
5.26k
Shares
विराटनगर / साढे ३ करोडको गाडी छ मेरो चुनाव जितेपछि गाडी नचड्ने प्रतिबद्धताका साथ निर्वाचित विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला अहिले महानगरको गाडी प्रयोग गरेका छन् ।

स्थानीय निर्वाचनको समयमा सरकारी गाडी प्रयोग नगर्ने प्रतिबद्धताका साथ निर्वाचित विराटनगरका प्रमुख कोइरालाले अप्ठ्यारो भएको भन्दै पुनः सरकारी गाडी प्रयोग गर्ने बताएका छन् ।

कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा जारी गरेको सार्वजनिक सूचना अनुसार करिब तीन महिना निजी गाडी प्रयोग गरेको र निजी गाडीमा महानगरबाट प्राप्त हुने तेल प्रयोग गर्दा बेरुजु देखाउने भएको उल्लेख छ ।

यसअघि प्रमुखले चढेको गाडी लामो समय नचलाउँदा प्राविधिक समस्या आउने र पछि त्यसको मर्मत गर्दा महानगरकै ठूलो रकम खर्च हुने भएकोले पनि महानगरकै गाडी प्रयोग गर्न लागेको उनले बताएका छन् । ‘गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका क्रममा मैले सरकारी गाडी प्रयोग नगर्ने निर्णय गरेको थिएँ,’ कोइरालाले भनेका छन्, ‘निर्वाचित भएर आइसकेपछिको करिब तीन महिना मैले आफ्नै निजी गाडी प्रयोग गरेको यहाँहरुलाई अवगत गराउन चाहन्छु । मेरो निजी गाडीमा महानगरबाट प्राप्त हुने तेल प्रयोग गर्दा पछि गएर बेरुजू देखाउने रहेछ । यसका साथै लामो समयसम्म गाडी नचलाउँदा प्राविधिक समस्या आउने र पछि त्यसको मर्मत गर्दा महानगरकै ठूलो रकम खर्च हुने भएकाले महानगरकै गाडी प्रयोग गर्ने निर्णयमा पुगेको छु ।’

उनले जारी गरेको सूचनामा आफूलाई महानगरका जनप्रतिनिधि, कर्मचारी, प्राविधिक र शुभेच्छुकबाट समेत महानगरकै गाडी प्रयोग गर्न सुझाव दिएको पनि उल्लेख गरेका छन् । ‘महानगरका जनप्रतिनिधिहरु, कर्मचारी, प्राविधिक र शुभेच्छुकबाट समेत महानगरकै गाडी प्रयोग गर्न बारम्बार सुझाव आएकाले उहाँहरुको सुझाव नकार्न सक्ने अवस्था नभएको समेत जानकारी गराउँदछु,’ उनले भनेका छन् ।

यस्तै उनले यो विषय समान्य भएपनि पारदर्शी हुनुपर्छ भन्ने लागेकोले सूचना जारी गरेर जानकारी गराएको बताएका छन् । ‘यो विषय सामान्य भएपनि हरेक कुरा पारदर्शी हुनुपर्छ भन्ने विचारबाट म सँधै अभिप्रेरित भएकोले महानगरबासीलाई यस विषय जानकारी गराउन उपर्युक्त ठानेर अबदेखि मेरो निजी कामबाहेक महानगरकै गाडी प्रयोग गर्ने यहाँहरु सबैलाई अवगत गराउन चाहन्छु,’ सूचनामा उल्लेख छ ।

कोइरालाका प्रेस सल्लाहकार मिनकुमार श्रेष्ठले पनि प्रमुख कोइरालाले जारी गरेको सूचना अनुसार नै गाडी प्रयोग हुने बताए । ‘निजी गाडी प्रयोग गर्दा विभिन्न समस्या आयो,’ उनले भने, ‘विशेष गरी तेल प्रयोग गर्दा बेरुजु देखिने भयो, अनि प्रयोग नगरी राख्दा महानगरको गाडी पनि बिग्रने देखियो, त्यही भएर मेयरसाब यो निर्णयमा पुग्नु भएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५