खबर पूर्वाञ्चल
संघले प्रत्येक वर्ष असार १० गते स्थापना दिवस मनाउँदै आएको छ । संघले स्थापना दिवसको अवसरमा विराटनगरमा आज सप्ताहव्यापी कार्यक्रम समापन तथा सम्मान
कार्यक्रम आयोजना गरि अग्रज औषधी व्यवसायी हंसराज अग्रवाललाई सम्मान गरेको छ । त्यसअघि विराटनगर–१० स्थित संघको कार्यालयमा संघको झण्डा फहराईएको थियो ।
समापन कार्यक्रममा विराटनगरका व्यवसायी अग्रवाललाई प्रमुख अतिथि संघका प्रदेश नम्बर १ अध्यक्ष कुमार खतिवडा, मोरङ अध्यक्ष लक्ष्मीप्रसाद तिम्सिनालगायतले दोसल्ला ओढाई सम्मान पत्र प्रदान गर्दै सम्मानित गर्नु भएको थियो ।
उक्त अवसरमा औषधि व्यवस्था विभाग विराटनगरका निमित्त प्रमुख टेकेन्द्र मिश्र, प्रदेश नम्बर १ औषधि आपूर्ति व्यवस्था कार्यालय विराटनगरका प्रमुख शम्भु साह, औषधी व्यवसयी संघ कोशी अंचल शाखाका पूर्व अध्यक्षहरु सुवास अग्रवाल, लक्ष्मण माझीलगायतले सम्पूर्ण औषधि व्यवसायीहरुलाई शुभकामना व्यक्त गरे ।
उनीहरुले औषधि व्यवसायमा देखिएको अस्वास्थ्य प्रतिष्पर्धालाई नियन्त्रण गरि मर्यादित र स्वच्छ बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए । उनीहरुले सरकारले बनाएका नियम , कानूनको सबैले पालना गर्नुको साथै चाँडै धनि बन्ने उद्देश्यले आएका नयाँ औषधि व्यवसायीले व्यवसायलाई नै बद्नाम गरिरहेकोले संघले त्यसलाई निरुत्साहित गर्न समेत ध्यान दिनुपर्ने बताए ।
संघका अध्यक्ष लक्ष्मीप्रसाद तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा संघका कार्यसमिति सदस्य प्रकाश धिमाल र सरिता चौधरीले प्रमुख अतिथि,विशिष्ठ अतिथि तथा अतिथिहरुलाई स्वागत सम्मान गरे ।
स्थापना दिवसको अवसरमा संघले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत हिजो कोशी अस्पताल अगाडी रक्तदान कार्यक्रम आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा ५ जना महिला सहित ३६ जनाले रक्तदान गरे । त्यस्तै संघले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विराटनगर–१३ स्थित पूर्वाञ्चल अनाथआश्रमका वालवालीकाकोलागि निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण, कोशी अस्पतालको वच्चा वार्डमा भर्ना गरिएका वालवालीकालाई फलफुल तथा पौष्टिक आहाराका सामग्री वितरण ,विराटनगर –१० स्थित मानव सेवा आश्रममा आश्रित असाहायहरुलाई खाद्यान्न सामग्री, औषधि, स्वास्थ्य सामाग्री समेत वितरण गरेको संघका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए । उनका अनुसार आज साँझ संघको कार्यालय तथा सबै औषधी पसल अगाडी दिप प्रज्वलन गरि स्थापना दिवस समापन गरिनेछ ।