animated ellipse animated ellipse

एमालेद्वारा विराटनगरका अधिकाँश वडामा घरदैलो कार्यक्रम सम्पन्न दोस्रो चरणमा कोणसभा र मतदाता शिक्षाको तयारी शुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ बैशाख २०७९, बिहीबार १९:३२
306
Shares
विराटनगर / वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा नेकपा (एमाले) विराटनगरद्वारा सञ्चालित प्रचार अभियान अन्तर्गतको ‘घरदैलो कार्यक्रम’ अन्तिम चरणमा पुगेको छ ।

मेयर उपमेयर सहित महानगरका सबै वडाहरूका उमेदवारहरू घरघरमा पुगेर मतदाताहरूको भावना बुझ्ने र मत माग्ने पहिलो चरणको कामलाई बिटमार्दै दोस्रो चरणको प्रचार अभियानका रुपमा कोणसभा तथा मतदाता शिक्षाका कार्यक्रम हुने भएका छन् ।

पार्टीका वडाध्यक्ष समेत रहेका वडाध्यक्ष पदका उमेदवार श्याम घिमिरेका अनुसार वडा नं. १९ मा घरदैलो कार्यक्रम सकिएको छ । शुक्रवार विहानबाट मतदाता शिक्षाको कार्यक्रम शुरु हुने उनले बताए ।

सो वडामा वैशाख २४, २५ र २६ गते कोण सभा र मतदातालाई भोटहाल्ने सिकाउने कार्यक्रम गर्ने तयारी गरिएको छ ।

त्यसका लागि जनतालाई कार्यक्रमस्थलमा जम्मा भई एमाले पार्टीका विचार विचार नीति र कार्यक्रमका बारेमा जानकारी लिन आह्वान गरिने अध्यक्ष घिमिरे बताउँछन् ।

कूल ३७३५ मतदाता रहेको यस वडाका जनताको मुख्य चाहाना सुकुम्वासी, शिक्षा, खानेपानी आदि समस्या समाधान हुनुपर्ने रहेको अध्यक्ष घिमिरेले बताए ।

वडा नं. १८ पनि घरदैलो कार्यक्रम सकिएको छ । विभिन्न ठाउँमा मेयर उपमेयर र पार्टी नेताको उपस्थितिमा कोणसभा समेत भएका छन् । वडाअध्यक्ष जितेन्द्र कामतका अनुसार महिला पुरुषको भिन्दाभिन्दै समूह बनाएर मतदाता शिक्षा शुरु गरिएको छ ।

यस वडामा ४२७९ मतदाता रहेका छन् । दलित तथा सुकुम्वासी वस्ती वाहुल्य यस क्षेत्रका जनताले शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी लगायतका समस्याहरू उठाएकोले एमालेका प्रतिनिधिले चुनाव जितेपछि ती समस्या समाधान गर्ने वडाध्यक्षका उमेदवार भुवनेश्वर यादवले जनतालाई आस्वस्थ गराएको अध्यक्ष कामतले बताए ।

वडा नं. १७ मा पनि विहीबार अपरान्हबाट घरदैलो सकिएको पार्टीका अध्यक्ष सरोज श्रेष्ठले जानकारी दिए । पाँचहजार तीनसय २० मतदाता रहेको यस वडामा एमालेप्रतिको जनविश्वास वृद्धि भएको वताउँदै उनले यसपटक एमालेले यस वडामा चुनाव जित्ने दावी गरे ।

अध्यक्ष श्रेष्ठका अनुसार यस वडाको मुख्य समस्या शिक्षाध्ययनका लागि विद्यालयको अभाव, डुवान र वेरोजारीलाई जनताले उठाएका छन् । विगतमा रघुपति जुट मिल लगायतका अन्य उद्योगधन्दाहरू सञ्चालन भएको यस वडामा अहिले रोजगारीका आधारहरू नहुँदा यहाँका वासिन्दाहरू बेरोजगारी समस्याबाट आक्रान्त रहेको उनको भनाई छ ।

२०३० सालमा स्थापना भएको एकमात्र आदर्शस्कूलमा अहिले पनि ८ कक्षासम्ममात्र पठनपाठन हुँदा यहाँका स्थानीयले आफ्ना बालबालिकाहरूलाई उचित शिक्षा दिन नपाएको अवस्थामा एमालेले वडाको नेतृत्व लिएपछि यी तमाम समस्या क्रमशः समाधान हुने उमेदवारको प्रतिवद्धता रहेको उनले बताए ।

मतदालाई कसरी भोट खसाउने भन्ने विषयमा जानकारी गराउने कार्यक्रममा उमेदवार लगायत पार्टीका नेता कार्यकर्ता जुटेको उनको भनाई छ ।

त्यसरी नै वडा नं. १६ मा पनि एमालेले घरदैलो कार्यक्रम सकेको छ । आजै मेयर उपमेयर लगायत अन्य नेताहरूको सहभागितमा ¥याली तथा कोणसभा सम्पन्न गरिएको पार्टी अध्यक्ष कुमार महर्जनले जानकारी दिए । यस वडामा ४०१९ जना मतदाता रहेको बताउँदै डुवानको समस्या समाधानप्रति स्थानीयको जोड रहेको उनले बताए । अबका बाँकी दिनमा आवश्यकता अनुसार कोणसभा र मतदाता शिक्षातर्फ प्रचार अभियान केन्द्रित रहने उनको भनाई छ ।

वडा नं. १५ मा पनि घरदैलो कार्यक्रम अन्तिम चरणमा पुगेको छ । वडाध्यक्षका उमेद्वार सूर्यनारायण महतोका अनुसार अबको चरणमा कोणसभा र मतदाताहरूलाई मतदानमा सहभागी भई भोट हाल्ने विषयमा जानकारी गराउने कार्यक्रम रहेको उनले बताए ।

वडा नं. १४ मा पनि घरदैलो कार्यक्रमको आजवाट समापन गरिएको छ । पार्टी अध्यक्ष राजकुमार महतोका अनुसार डुवान र नागरिकताको समस्याप्रति जनताको विशेष चासो रहेको छ । साथै अरु विकासका कार्यक्रमहरूमा पनि यो वडा उपेक्षित रहेको बताउँदै एमालेका उमेदवारहरूहरू विजयी भएपछि जनाताका समस्या सही ढङ्गले समाधान गर्ने आफ्नो पार्टीका उमेदवारहरूको प्रतिवद्धता रहेको उनले जनाए । यस वडामा ६२८० मतदाता रहेको बताउँदै उनीहरूलाई मतदान शिक्षा दिने एमालेको कार्यक्रम रहेको जानकारी महतोले गराए ।

वडा नं. १४ मा शुक्रवारदेखि घरदैलो सकेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने योजना बनेको वडाध्यक्षका उमेदवार किशोर पोखरेलले जानकारी दिए । पाँचहजार एकसय पाँच मतदाता रहेको यस वडामा पार्टीका नेता तथा उमेदवारहरूको सहभागितामा विभिन्न ठाउँमा कोणसभाहरू पनि सम्पन्न भएका छन् । विराटनगरका तमाम नागरिकहरूको अपेक्षा जस्तै यस वडामा बाटोघाटो, डुवान लगायतका समस्या समाधान गर्न वडामा एमालेको नेतृत्व आउनुपर्ने जनअपेक्षा रहेको उनले बताए ।

वडा नं. १२ का वडाध्यक्ष भोला बरालको चुनावी अभियानमा जुटेका सहयोगी अनिल साहकालका अनुसार शुक्रबार मध्यान्हसम्म घरदैलो कार्यक्रम सम्पन्न हुनेछ ।
उनका अनुसार डुवान नियन्त्रण, बाटोघाटो निर्माण तथा मर्मत, खानेपानीको उचित व्यवस्थापन, शिक्षामा सर्वसाधारणका बालबालिकाको पहुँच, स्वास्थ्यमा सर्वसाधारणको सहज पहुँच हुनुपर्ने जस्ता विषयहरू जनताले उठाएको उनले बताए ।

घरदैलो कार्यक्रममा अध्यक्षका उमेदवार बरालले आफू वडाको नेतृत्वमा पुगेपछि समस्याहरूको पहिचान गरी समाधानमा लाग्ने प्रतिवद्धता व्यक्त गरेको सहयोगी अनिलले बताए ।

वर्षादको समय आउँदै गर्दा हुने सम्भावित डुवानको खतरा न्यूनीकरण र उचित विपद् व्यवस्थापनका लागि पनि जनताले उमेदवारहरूको ध्यानाकर्षण गराएको पार्टीका वडाध्यक्ष भानुभक्त पाठकले जानकारी गराए ।

नगरका अन्य वडाहरूमा विहीवार अपरान्हसम्म घरदैलो कार्यक्रम जारी रहेको सम्वन्धित वडाबाट जानकारी प्राप्त भइरहेकाले सो सम्वन्धी विवरण क्रमशः उपलव्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर