AArya
RUMPUM
animated ellipse animated ellipse

रतुवामाईका मेयर रविन राईद्वारा आचारसंहिताको धज्जी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० बैशाख २०७९, मंगलवार १८:२६
666
Shares
विराटनगर /निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहित अनुसार स्थानीय कार्यपालिका र सोका सदस्यलाई पनि कुनैपनि राजनीतिक दल वा उम्मेदवारको पक्ष तथा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचार गर्न रोक लगाएको छ ।

त्यस्तै आचारसंहिताले राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला गोष्ठी, सम्मेलन, अन्तरकृयाजस्ता कार्यक्रममा भाग लिन नहुने भनेको छ । तर, मोरङको रतुवामाई नगरपालिकाका मेयर रविन राई भने सरकारी स्रोत, सधान र सम्पत्तिको दुरुपयोग गरी निर्वाचन आचारसंहिताको धज्जी उडाइरहेका छन् । उनले नगरपालिका स्रोत, साधन र गाडीसमेत दुरुपयोग गर्दै नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा मत माग्दै चुनावी प्रचारमा हिँडेको पाइएको हो ।

मेयर राई यतिबेला नेपाली कांग्रेस र सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्दै चुनावी प्रचारमा हिँड्नेमात्र नभई विभिन्न स्थानमा आयोजना गरिएको चुनावीसभामा भाषणसमेत गर्दै हिँडिरहेका हुन् ।

मेयर राईले हालसम्म पदबाट राजीनामा दिएका छैनन् । निर्वाचन आचारसंहिताबमोजिम वहालवाला मेयरले कुनै पनि दल तथा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार गर्न पाउँदैनन् । तर, उनले निर्वाचन आयोगलाईनै चुनौती दिँदै कांग्रेसका लागि पदको दुरुपयोग गरिरहेको स्थानीयले बताएका छन् ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पार्टीको चुनावी प्रचारमा हिँड्नुपर्ने भएकाले नैतिकता देखाउँदै राजिनामा दिएका थिए । तर, रतुवामाईका मेयर राई भने आचारसंहिता विपरितका गतिविधिमा सक्रिय रहेको स्थानीयको भनाइ छ । उनी २०७४ सालमा कांग्रेसका तर्फबाट मेयरमा निर्वाचित भएका थिए । यसपटक पनि उनी मेयरका आकांक्षी थिए । तर, उनले टिकट पाएनन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रतुवामाईका प्रमुख निर्वाचन अधिकृत राजु अधिकारीले मेयरले कुनैपनि दल विषेशको चुनावी प्रचारमा सहभागी हुन नपाउने भएकाले त्यसो गरेको पाइएमा कारबाही हुने बताए । ‘कार्यपालिका प्रमुख र सदस्यलाई पनि आचारसंहिता लागू हुन्छ । उम्मेदवार र दलको प्रचारमा हिँड्न पाइदैन’ उनले भने,‘मेयरले आचारसंहिता उल्लंघन गरे कारवाही हुने व्यवस्था छ ।’

प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कस्यप अधिकारीले मेयर राईले आचारसंहिता विपरितको कार्य गरेको खण्डमा कारबाहीको भागिदार बन्ने बताए । ‘हामी तत्काल सचेत गराउँछौँ ।’ उनले भने,‘त्यहाँको मुख्य निर्वाचन अधिकृतको कार्यालय मार्फत प्रकृया अघि बढ्छ ।’

केही दिनअघि मेयर राईकै निर्देशनमा आचारसंहिता विपरीत कांग्रेस उम्मेदवारको पक्षमा मत माग्दै उपभोक्ता समिति गठन गरेर रतुवामाई–५ स्थित लेटीमा गिटी झारिएको थियो । विवाद भएपछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लम्सालले उक्त काम रोक्न लगाएका थिए ।

आचारसंहिता उल्लंघन गरेको विषयमा मेयर राईले निजी गाडी लिएर चुनावमा हिंडेको बताएका छन् । आफूले निर्वाचन आचारसंहिता उल्लंघन नगरेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर