पूर्वाञ्चल खबर
नेपालभाषा सांस्कृतिक संघ झी पुच ः को आयोजनामा २२ जना नेवार कन्याहरुको सामुहिक बेलविवाह सम्पन्न भएको हो ।
झी पुच ः को आयोजनामा विराटनगरस्थित बगलामुखी मन्दिर परिसरमा एकैसाथ २२ जना नेवार बालिकाहरुको इही अर्थात बेलविवाह सम्पन्न भएको झी पुच ः अध्यक्ष हरिबहादुर श्रेष्ठले जानकारी दिए । समुदाय भित्रकै पुरोहितले परम्परागत सांस्कृति र विधि अनुसार बालिकाहरुको इही सम्पन्न गराएको हो । यसपटक समेत कोभिडको संक्रमण तीब्र रहेकाले कोभिड सम्बन्धि प्रोटोकोल पालना गर्दै थोरै संख्यामा सहभागि गराएर सामुहिक बेलविवाह कार्यक्रम आयोजना गरिएको झी पुच ः अध्यक्ष श्रेष्ठले बताए ।
नेवारी समुदायमा बालिकाहरुको बेल विवाह गरिदिने प्रचलन छ । परम्परा धान्नका लागि मात्र नभएर यसको आफ्नै विशेष महत्व छ । तीन बर्षदेखि माथि एघार बर्षसम्मका बालिकाहरुको बेल विवाह गरिदिने प्रचलन छ । नेवार कन्याहरूको रजस्वला हुनु अघिनै बेलसंग विवाह भइसक्नु पर्ने धार्मिक परम्परा छ । छोरीको बेलविवाह र छोराको व्रतबन्ध अनिवार्य गर्नैपर्ने नेवार समुदायको मान्यता छ ।
बेल जडीबुटीमध्ये श्रेष्ठ प्रजाति हो । बेलविवाहमा बेललाई स्वर्णकुमार मानेर बालिकाको विवाह गराई दिनुलाई अगाध प्रकृतिप्रेमको रूपमा लिन सकिन्छ । विवाह सकिएपछि भने बालिकाहरुलाई ८४ व्यन्जन सहितको नेवारी परिकार थ्याबु ख्वाउने प्रचलन छ ।
बेलविवाह, इहीपछि कन्याहरूले अन्य विवाहित महिला सरह पहिरन तथा शृङगार गर्न सक्छन् । इही गरेका चेलीहरू कहिल्यै पनि विधवा हुदैनन् भन्ने विश्वास र मान्यता समुदायमा पाइन्छ । व्यक्तिगत रुपमा बेलविवाह सम्पन्न गर्दा धेरै फजुल खर्च हुने भएपछि न्यूनिकरण गर्ने उद्धेश्यले पछिल्लो केही दसक यता सामूहिक वेलविवाहको प्रचलन बढदो रहेको छ ।