पूर्वाञ्चल खबर
प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी मुख्यमन्त्रीको प्रस्तावमा आइतबार मतदान गर्ने सहमति कार्यव्यवस्था समितिमा भएसँगै आचार्य नेतृत्वको सरकारको आयु आइतबारसम्म लम्बिएको हो ।
नेकपा एमालेको विभाजनसँगै भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त भएका आचार्य सोहि दिन अल्पमतमा परेका थिए । संविधानमा सरकारमा रहेको दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने बाध्यात्मक व्यवस्था भएपनि सभामुखसँगको मिलेमतोमा उनले आफ्नो आयु झण्डै एक महिना लम्ब्याएका छन् ।
संसदलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बाढीपहिरोका कारण भएको धनजनको क्षतिबारे सदनलाई जानकारी दिए। गत असोज २५ गते संवैधानिक प्रावधान अनुसार उनले विश्वासको मत चाहिएको प्रस्ताव संसद् सचिवालयमा पठाएका थिए।
पार्टी विभाजनपछि सत्तारूढ एमालेका ४१ सांसद छन् । एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा संख्या ३९ मात्रै हुन्छ । संसदमा सामान्य बहुमत सिद्ध गर्न ४७ मत आवश्यक पर्छ ।
विपक्षी गठबन्धन भने ५० मत संख्या साथमा लिएर नयाँ सरकार बनाउने तयारीमा जुटेका छन् । विपक्षी गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद छन् ।