खबर पूर्वाञ्चल
हिजो मोरङ प्रहरीले एकै दिन विभिन्न मुद्दामा कैद सजाय र जरिवाना तोकिएको अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले एकै दिन ११ जना फरार अभियुक्तहरूलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । मोरङ जिल्ला अदालतदेखि २०७० पुस १४ गते फैसलाले सवारी ज्यान मुद्दा र २०७३ असार १२ गतेको कुटपिट लुटपाट मुद्दामा कैद तथा जरिवाना ठहर भएका प्रतिवादीहरूलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए ।
यसरी पक्राउ पर्ने कुटपिट र लुटपाट मुद्दाका मोरङ सुनवर्षी नगरपालिका ६ का ५३ वर्षिय रमेश भुजेल, सोही मुद्दाका २३ वर्षिय सुरज भुजेल, कुटपिट मुद्दामा ५८ वर्षिय उसमान मियाँ, २८ वर्षिय रमजान मियाँ, ४८ वर्षिय अन्जु खातुन, ४८ वर्षिय उवारन खातुन रहेका छन् । यस्तै सोही मुद्दाका ३० वर्षिय अव्वास मियाँ, २७ वर्षिय फुच्चे मियाँ, ३१ वर्षिय कैलु मियाँ र ३५ वर्षिय साहजवि खातुन रहेको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीले चालु आर्थिक वर्षको दुई महिनामा १ सय २८ जना फरार अभियुक्त पक्राउ गरेको डिएसपी श्रेष्ठले जानकारी दिए । साउन र भदौ महिनामा अदालतले कैद र जरिवाना तोकिएको अभियुक्तलाई प्रहरीले पक्राउ गरि अदालतमा उपस्थित गराएको उनले बताए । पक्राउ परेका प्रतिवादीबाट १ सय ५४ वर्ष १६ दिन कैद सजाय भुक्तान गरेका छन् भने ३५ लाख ८८ हजार १ सय १४ रूपैयाँ जारिवना असुल गरिएको प्रहरीले जनाएको छ ।