पूर्वाञ्चल खबर
सडकको पश्चिमतर्फ रोकेर राखिएको आफ्नै को २ ह २३३३ नम्बरको अटोभित्र बेहोस अवस्थामा फेला परेका इटहरी–३ का ३० वर्षीय विषम श्रेष्ठ साँझ ७ः४५ बजेतिर बेहोस भेटिएका थिए ।
सिटमा ढल्किएको अवस्थामा उनी बेहोस भेटिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खवर गरेका थिए । स्थानीयको सहयोगमा प्रहरीले उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए ।
‘मुख पूरै सुख्खा भएको अवस्थामा बेहोस भेटिएपछि गर्मीले समस्या बनाएको हो कि भन्ने आशङ्कामा उपचारका लागि लगिएको थियो,’ उनले भने, ‘तर अस्पताल पुर्याउनसाथ चिकित्सकले अटो चालक श्रेष्ठलाई मृत घोषित गरिदिए ।’
अटो श्रेष्ठको आफ्नै रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अटोमा बोराभित्र पाँच किलोजति चिनी पनि भेटिएको छ । आधा खाएको अवस्थामा फ्रुटीको बट्टा पनि भेटिएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको एसपी जिसीले जानकारी दिए ।