पूर्वाञ्चल खबर
कोरोना भाइरस संक्रमित विरामीको उपचारका लागि बनेको सय बेड आइसोलेसनसहितको कोभिड–१९ अस्पताल आजैदेखि सञ्चालनमा आएको हो । एक सातामा तयार भएको उक्त अस्पतालमा छुट्टै बच्चा वार्ड, मातृशिशु वार्ड, शल्यक्रिया , ल्यावलगायतको वार्डहरु तयार गरिएको छ । अस्पतालमा छुट्टै १३ बेड आइसियु पनि व्यवस्था गरिएको प्रतिष्ठानका सह प्रवक्ता डा. अशोक ऐरले जानकारी दिए । मुख्यमन्त्री राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सभामुख प्रदिप भण्डारीले प्रतिष्ठानको कोरोना उपचारको तयारी र अवस्थाबारे निरिक्षण गरे ।
कोरोना संक्रमणको परीक्षणका विषयमा डा. नारायण भट्टराईले मन्त्रीहरुलाई जानकारी गराएका थिए । प्रतिष्ठानमा पनि अटोमेटिक आरएनए मेसिन भए हालको परीक्षण क्षमता भन्दा तीन गुणा बढि टेष्ट गर्न सकिने डा.भट्टराईले जानकारी गराएका थिए । हाल प्रतिष्ठानमा दैनिक एक सयजनासम्मको परीक्षण गर्न सक्छ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अस्पताल निरीक्षणपछि प्रदेश १ कोरोना भाइरसको केन्द्रविन्दुको रुपमा देखिएको भएपनि सरकारको तयारी राम्रो रहेकोले आत्तिनु पर्ने अवस्था नभएको बताएका छन् । एक हप्तामा नै विराटनगरमा कोभिड अस्पताल तयार गरेको बताउँदै उनले संक्रमण देखिएको क्षेत्रमा परीक्षण कार्यलाई तीब्र बनाएको र बीपीमा पनि अस्पताल बनेकोले अब उपचारमा समस्या नहुने उल्लेख गरे ।
परिस्थिति हेरेर संख्या अझै बेडसंख्या थप गर्न सक्ने बताउँदै मुख्यमन्त्री राईले कोरोनालाई पराजित गर्न एक ढिक्का भएर जुटेकोकोले आत्तिनुपर्ने र विचलिन हुनुपर्ने अवस्था नरहेको बताए । लकडाउनमा पालना गर्नुपर्ने अनुशासनहरु पालना गरेर, संक्रमितहरुलाई उपचारको व्यवस्था गरेर तथा संक्रमण विस्तार हुन नदिएर कोरोना भाइरसलाई पराजित गर्ने मुख्यमन्त्री राईको विश्वास रहेको छ ।