साढे ३३ किलो सुन तस्करी प्रकरणका साक्षीको बकपत्र सुरु

खबर पूर्वाञ्चल, ५ चैत्र २०७६, बुधबार ०८:०३

विराटनगर / साढे ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्यको हत्या मुद्दामा वादी र प्रतिवादीतर्फको १ सय ९ जना साक्षीको बकपत्र सुरु भएको सभमचार आजको हाम्रोमत दैनिकले छापेको छ ।

वादीको भन्दा प्रतिवादीतर्फको साक्षी धेरै रहेका छन् । वादीतर्फका ३६ र प्रतिवादीका ७३ जना साक्षी रहेको जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए ।

वादी र प्रतिवादी गरि दुबै पक्षका साक्षीले अदालतमा नामवली पेश गरेपछि मंगलबारदेखि साक्षीको बकपत्र सुरू भएको हो । ‘वादी र प्रतिवादी दुवैतर्फका साक्षीको नामवली अदालतमा आएको छ’ अदालतका सूचना अधिकारी पौडेलले भने, ‘साक्षीको नाम धेरै भएकोले मिति तय गरेर बकपत्रको लागि समय दिएका छौ ।’

दैनिक २ जना साक्षीको बकपत्र हुने अदालतले जनाएको छ । वादी र प्रतिवादीका साक्षीको संख्या धेरे भएको बकपत्र हुन केही दिन समय लाग्नेछ । सुन मुद्दाका वादी र प्रतिवादीका साक्षीको बकपत्र जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजालशमा भइरहेको छ ।

गत वर्षको फागुन १८ गते सुन तस्करीको सञ्जाल चलाइरहेका चुणामणी उप्रेती गोरेसहितको समूहले मोरङ उर्लाबारीका सनम शाक्यको हत्या गरेका थिए । शाक्यको हत्या अनुसन्धानका क्रममा खुलेको सुन तस्करी मुद्दाको छानविनका लागि गृह मन्त्रालयका तत्कालिन सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानविन समिति गठन भएको थियो । पौडेल नेतृत्वको समितिको प्रतिवेदनका आधारमा सुन तस्करी प्रकरणमा ६३ जना विरूद्ध गत बैसाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दायर भएको थियो ।

सुन तस्करी र हत्या प्रकरणमा खुल्दै गएका प्रतिवादीलाई पुरक अभियोग लगाएर ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अबैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्दामा ७७ जनालाई प्रतिवादी बनाएको छ । अदालतले साक्षीको बकपत्र, प्रमाण र सबै विषयको अध्ययन गरेपछि फैसला गर्दछ ।

अभियोगमा प्रतिवादीहरूले सन् २०१५ देखि पछिल्लो पटक भित्र्याएको गरि ३ हजार ८ सय किलोग्राम सुन तस्करी गरेको भन्दै १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रूपैयाँ बिगो माग दावी गरिएको छ । अभियोग पत्रमा ३७ लाख ९९ हजार ५ सय ६५ ग्राम सुन चोरी निकासी गरेको उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५