पूर्वाञ्चल खबर

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज एक समारोहबीच वेलनेस अस्पतालको औपचारिक उद्घाटन गरे ।
विराटनगरका ४ जना महिला उद्यमीहरुले झण्डै साढे सात करोड रुपैयाँ लगानी गरेर अस्पताल सञ्चालनमा ल्याएका हुन् । विराटनगर ३ मा सञ्चालित हस्पिटलले वैकल्पिक चिकित्सा विज्ञानमा आधारित भएर उपचार गर्ने जनाएको छ ।
आधुनिक उपचार पद्दतिको विकल्पमा औषधि, सुई र चिरफार नगरी योग, अकुपञ्चर, फिजियोथेरापी, वाथतथा न्युट्रिसनको माध्यमबाट विरामीको उपचार गरिने वेलनेस अस्पताल काठमाण्डौका अध्यक्ष डा.जगतबहादुर बस्नेतले जानकारी दिए । प्राकृतिक जीवनशैलीलाई प्रयोग गरी रोगीलाई निरोगी बनाउने र निरोगीलाई दीर्घजी विबनाउनेतर्फ अस्पतालले योगदान गर्ने बताइएको छ ।
अस्पतालले शिरोधारा, योगा, मड थेरापी, जाकुजी, स्टिम बाथ, साउनाबाथ, अकुप्रेसर, अकुपञ्चर, फिजियोथेरापी, मायो तथाम्यानिपुलेसन थेरापी, इलेक्ट्रोथेरापी, न्युरो पुनसर््थापना, मसाज थेरापी, डिलक्स हाइड्रो थेरापी जस्ता सेवाहरु प्रदान गर्नेछ । हस्पिटलको औपचारिक उद्घाटन गर्दै मुख्यमन्त्री राईले संसारभरि प्राकृतिक उपचार पद्दति प्रभावकारी बन्दै गएको अवस्थामा विराटनगरमा पनि सेवा सुरु भएकोमा आफू उत्साहित भएको बताए ।
गर्धनमा देखिएको समस्या समाधानका लागि केही समय प्राकृतिक उपचार सेवा लिएको भन्दै अनुकुल भएमा अस्पतालबाट नियमित सेवा लिने बताए । अस्पतालबाट प्रदेश १, छिमेकी प्रदेश र छिमेकी देशका नागरिकहरुले समेत सेवा लिनसक्ने अवसर सृजना भएको बताए ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले आयुर्वेद र प्राकृतिक चिकित्सा नेपालमा मुल उपचार पद्दति हुनु पर्नेमा समयानुकुल विकास नहुँदा पछि परेको बताए । उनले आमाहरुले जडिबुटी थैलीमा राखेर विभिन्न रोगहरुको घरेलु विधिबाट उपचार गर्ने ज्ञान हराउँदै गएकोप्रति चिन्ता जनाउँदै प्राकृतिक उपचार पद्दतिलाई संरक्षण गर्नुपर्नेमा जोड दिए ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगरमा फरक तर आवश्यक प्रकृतिको सेवा प्रदान गर्ने अस्पताल सञ्चालनमा आएको भन्दै खुशि व्यक्त गरे । कार्यक्रममा प्रतिनिधिसभा सदस्य अमनलाल मोदी, अस्तालका अध्यक्ष शिवा उपाध्यायलगायतले बोलेका थिए ।
विराटनगर– २ सौगातमार्ग बरगाछीमा स्थापना भएको अस्पतालमा तत्काल डा. प्रकृति सिंह केसीले प्राकृतिक चिकित्सा सेवा प्रदान गर्ने छिन् भने डा. मोहमद जावेदले फिजियोथेरापी सेवा दिनेछन् । सोमबारदेखि तीन दिनसम्म अस्पतालले निःशुल्क उपचार सेवा प्रदान गर्न शिविर सञ्चालन गर्ने घोषणा पनि गरेको छ ।