पूर्वाञ्चल खबर
विराटनगर / पदमुक्त भएका प्रदेश १ प्रदेश प्रमुख प्राडा गोबिन्दबहादुर तुम्बाहाङलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदिपकुमार भण्डारीसहितले विदाई गरेका छन् ।
आइतबार सातै प्रदेशका प्रदेश प्रमुखहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार पदमुक्त गरेकी थिइन् । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ३ गते प्रदेश प्रमुखहरूको नियुक्ति गरेको थियो । आज निवासमै तुम्बाहाङले मुख्यमन्त्री, सभामुख, उपसभामुखसहितसँग विदाइ भेट गरेका थिए ।
मुख्यमन्त्री राईले कार्यरत अवधिमा सुखद सहकार्य भएको स्मरण गर्दै तुम्बाहाङको प्रशंसा गरेका थिए । भेटका अवसरमा मुख्यमन्त्री राईले प्रदेश प्रमुखलाई मायाको चिनो करुवा प्रदान गरेका थिए । त्यसक्रममा उनले सरकार र प्रदेश प्रमुखबीच सुसम्बन्ध रहेकोले पदमुक्त नगर्दा हुने भन्ने सुझाव दिएको स्मरण गरेका थिए । मुख्यमन्त्री राईले झण्डै २० महिनाको अवधिमा भएको सहकार्यको प्रशंसा गरेको प्रदेश प्रमुख तुम्बाहाङका प्रेस संयोजक शेखर रेग्मीले जानकारी दिए ।