पूर्वाञ्चल खबर
विराटनगर / कुखुरा र सुगुरका कारण उत्पन्न फोहरबाट दुर्गन्ध फैलियो भन्ने जनगुनासा सहित विराटनगर महानगरमा उजुरी पर्न थालेका छन् ।

विराटनगर महानगरका केही वडाहरुमा यसखाले समस्यावाट स्थानीयहरु आजित समेत भएका छन् । स्थानीयबासिन्दाको उजुरी संगै महानगरले त्यस्ताक्षेत्रको पहिचान सहित समाधानका लागि काम थालेको छ ।

विराटनगर महानगरको न्यायीक समितिमा यसखाले उजुरी परेपछी उपमेयर इन्दिरा कार्की र वडाध्यक्ष बद्री सरदारसहितको टोलीले आज महानगर स्थित वडा नं.१९ को धनपुरा टोलमा अनुगमन गरेको छ । पैनीको डिलमा दर्जनौको सख्यामा पालिएका सुगुरको मलमुुत्र र कुखुराहरुको सुलीको गन्धका कारण स्थानीयहरुले सास्ती बेहोरिरहेका छन् । विना इजाजत पैनिको छेउमा पालिएको सुगुर र कुखुराका कारण दुर्गन्ध फैलिएको भन्दै स्थानीयहरुले उपमेयर संग तत्काल हटाइदिन आग्रह गरे ।
सुनिल चौधरी र उनका परिबारका सदस्यले पैनिमा फोहर जानेगरी सयौको संख्यामा सुगुर पालेका छन् । जसका कारण उत्पन्न दुर्गन्धले नजिकै रहेको बस्तीका स्थानीयहरु पिडित बन्न पुगेका छन् ।
अनुगमन पछी न्यायीक समितिकी संयोजक समेत रहेकी उपमेयर कार्कीले तत्काल समस्या समाधानका लागि पहल थालिने बताइन् । उनले तत्काल सम्वन्धित धनीलाई ब्यवस्थितगरी पाल्न र इजाजत लिन आग्रह गरिएको बताइन । ठूलो जनसंख्यालाई समस्या पार्ने र दुर्गन्धमा बस्नुपर्ने अवस्था अन्त्य गर्न महानगर लाग्ने कार्कीले बताइन् । यस्तै विराटनगर महानगरको ११ र ६ नं वडामा समेत सुगुरको समस्या रहेको भन्दै कार्कीले यसको समस्या समाधानमा समेत महानगर लागेको उपमेयर कार्कीको भनाइ थियो ।