CLASSICTECH NET

तनावग्रस्त पथरी बजार खुल्यो, डिएसपीको नेतृत्वमा छानविन टोली बन्यो

खबर पूर्वाञ्चल, १० बैशाख २०७६, मंगलवार १६:४५

पथरी / आज दिनभर तनावग्रस्त बनेको मोरङको पथरी शनिश्चरे नगरपालिकामा रहेको पथरी बजार दिउँसो देखि सामान्य बन्दै गएको छ ।

रिना बस्नेतको शंकास्पद मृत्यु भएको घटनाको सत्य तथ्य छानबिनका लागि वार्ता टोली बन्ने भएपछि अहिले पथरी शनिश्चरेको अवस्था सामान्य बन्दै गएको हो । गत शनिबार शंकास्पद मृत्यु भएकी बस्नेतको घटनाको सत्य तथ्य बाहिर ल्याउनुपर्ने भन्दै आन्दोलन चर्काएका स्थानीय र प्रहरीबीच आज दिउँसो पटक–पटक झडप भएको थियो ।

पछिल्लो समयमा सडकमा जताततै टायर बालेर आन्दोलनलाई उत्तेजित बनाएर नारावाजी गरेपछि प्रहरीसँग झडप भएको छ । प्रहरीले भीडलाई नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास प्रहार समेत गरेको थियो ।

त्यसअघि आन्दोलित पक्षले पथरीको इलाका प्रहरी कार्यालयमा ढुंगा प्रहार गरेर गेट तोडफोड गर्न खोजेपछि प्रहरीले २ राउण्ड हवाइ फायर गरेको थियो । प्रहरीको लाठी चार्ज र आन्दोलितको ढुंगा प्रहारबाट वडा नम्वर १ का जितवहादुर लावती सहित पाँच जना घाइते पनि भएका थिए । घाईते २ जनाको स्थानीय पथरी हस्पिटलमा उपचार भइरहेको र ३ जनालाई विराटनगर पठाइएको छ ।

नगरप्रमुख दीलिपकुमार राईले आन्दोलनकारीलाई सम्बोधन गर्दै संघर्षरत पक्ष, नगरक्षेत्र र प्रहरी प्रशासनबीच वार्ता गर्ने टोली गठन गर्ने भन्ने बारे सहमति गरेको जानकारी दिए । मेयरले गरेको सम्बोधनपछि स्थानीयले विहान ९ बजेदेखि बन्द रहेको राजमार्ग खुलाएका गरेका छन् ।

नगरपालिका कार्यालयमा आएको आन्दोलित पक्षमाझ बोल्दै नगर प्रमुख दिलिपकुमार राईले रिना काण्डको यथार्थ चाँडो भन्दा चाँडो पत्ता लगाउन आफुहरुले प्रहरीलाई भनिरहेको र एकजना शंकास्पद व्यक्ति पक्राउ परेको जानकारी गराए । साथै उनले इलाका प्रहरी कार्यालय पथरीमा नयाँ कार्यालय प्रमुखको व्यवस्थापन गरेर नगरको शान्ति सुरक्षाको चुस्त व्यवस्थापन गर्न आफुहरु लागिरहेको जनाए । आन्दोलनलाई शान्तिपूर्वक संयमतामा परिणत गर्दै अपराधि नियन्त्रण गरी कारवाहीको प्रक्रियामा ल्याउँनका लागि सहयोग पुर्याउन सवैसँग आव्हान पनि गरेका छन् ।

नगर प्रमुख राई र उपप्रमुख यमुना विष्ट वास्तोलालाई स्थानीयको आन्दोलनमा सडकमा जान दवाव दिँदै नगरपालिकामा नारावाजी गरेपछि दुवै जनासहित अन्य जनप्रतिनिधि सडक हुँदै इलाका प्रहरी कार्यालय पुगेका थिए । हजारौंको भीड इलाका प्रहरी कार्यालय बाहिर र सडकमा नारावाजीमा उत्रिएको छ । सुरक्षा अवस्थालाई ख्याल गरेर वाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी नवराज ढुंगानाको नेतृत्वको टोलीले घटनाको छानविनको जिम्मा लिएको छ । जसमा प्रदेश प्रहरीको प्राविधिक टोली समेतले अनुसन्धान गरिरहेको उल्लेख छ । डीसएपी ढुंगानासँग संविधानसभा सदस्य चण्डीप्रसाद राई, पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोलासहितका जनप्रतिनिधि, अगुवा समाजसेवीहरुबीच घटनाको सुक्ष्म अध्ययन र अपराध नियन्त्रणका बारेमा इलाका प्रहरी कार्यालयमा छलफल भएको थियो ।

छफललमा प्रहरीले अनुसन्धान जारी राखेको र अनुसन्धानमा थप सहयोग पुर्याउन आन्दोलन रोक्नका लागि प्रहरीले अनुरोध गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी मनोज केसीले जनाए । ‘हामीले अनुसन्धानमा कसर नराखी टोली खटाएर प्रक्रिया अघि बढाइराखेका छौं । यथार्थ पत्ता लगाउने कुरामा प्रतिवद्ध छौं ।’– उनले भने । आन्दोलनरत पक्षले सो कुराप्रति विश्वस्त नबनेर आन्दोलन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५