पूर्वाञ्चल खबर
असोज ४ गते दिनदहाडै हरिनगर गाउँपालिका–२ भुटाहामा मुस्लिम अगुवा खुर्शिद आलममाथि गोली प्रहार हुँदा घटनास्थलमै उनको ज्यान गयो । सो घटनाको अनुसन्धान टुङ्गो नलाग्दै ६१ दिनपछि दुहवी नगरपालिका–९ छाताबेलीका फिदा हुसेनमाथि मंसिर ५ गते विहान गोली हानियो र उनको समेत ज्यान गयो । दुवै हत्याका घटनामा अपरिचित समूहले गोली प्रहार गरे र फरार भए । फिदा घटना ताजै छ र जुन अनुसन्धानकै चरणमा छ । प्रहरीले फिदा हुसेन हत्याकाण्डसँग जोडिएका विविध पक्षको सूक्ष्म अनुसन्धानलाई जारी राखेको बताएको छ । उता हुसेन हत्यापूर्व भुटाहामा आलमको गोली हानी हत्या भएको घटना अनुसन्धान निचोड नजिक पुगेको बताउने प्रहरीले हत्यारा भने पक्राउ गर्न सकेको छैन ।
यसैबीच प्रहरीले जिल्लामा बढ्दो सुरक्षा धम्कीलाई मध्यनजर गर्दै जासुसी दस्ता परिचालन गरेको छ । विशेष तालिम प्राप्त दस्तामा हतियारसहित सादा पोशाकका सुरक्षाकर्मी सुनसरीको हकमा परिचालित गराइएको छ । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार आवश्यकता परेको खण्डमा विशेष दस्ताले गोली चलाउन आदेश कुर्नु पर्ने छैन । अवस्थालाई दृष्टिगत गर्दै जवाफी कार्वाही गर्न सक्ने अधिकार पाएको सुरक्षाकर्मीले आवश्यकता परेको खण्डमा ‘टार्गेट काउण्टर’मा उत्रन सक्ने छ ।
खुला सीमा क्षेत्रमा हुने आवतजावतसँगै आपराधिक कार्यमा संलग्न रहेकाहरूको सक्रियता देखिन सक्ने अवस्थालाई दृष्टिगत गर्दै नेपाल भारत सीमासहित आसपासको क्षेत्र र सम्भावित सुरक्षा धम्की र संवेदनशील मानिएका भेगका साथै जिल्लाभर गतिविधि रहने गरी थप टोलीसहितको जासुसी दस्ता परिचालन गराइसकिएको सुनसरी प्रहरीले जनाएको छ ।
एकपछि अर्को गोली हानि हत्या गरिएको घटना पश्चात शान्ति सुरक्षाको विषयलाई लिएर आलोचना खेप्नु परिरहेको प्रहरीले आपराधिक प्रवृति नियन्त्रणमा लिन जिल्लाभर एकसाथ ‘टाग्रेट काउण्टर’ रणनीति कार्यान्वयनमा ल्याएको जनाएको छ ।
जसका लागि सुनसरी प्रहरीले अन्य जिल्लामा रही कार्यसम्पादनमा उत्कृष्ठ ठहरिएका सुरक्षा मामिलाका दक्ष र अनुभवी जनशक्तिसमेत जिल्ला भित्र्याएको छ । गाउँटोलसहित सीमा क्षेत्रमा परिचालित सुरक्षाकर्मीको टोलीले शंकास्पद गतिविधिमा संलग्न रहेको पाइए सम्वन्धित व्यक्तिलाई नियन्त्रणमा लिई सोधपुछ गर्ने छ ।
हतियारसहितका व्यक्ति फेला परेको खण्डमा वा सूचनाका आधारमा पिछा गरिएको अवस्थामा मानव अधिकारको उल्लंघन नहुने गरी नियन्त्रणमा लिने प्रयास गरिने प्रहरीले बताएको छ । अवस्था नियन्त्रण बाहिर जाने सम्भावना रहे, आपराधिक व्यक्ति वा समूह सहजै नियन्त्रणमा लिन नसकिए, आक्रमणको सम्भावना बढे वा शान्ति सुब्यवस्थामा खलल पुग्ने अवस्था सिर्जना हुनजाने पाटोलाई मनन गरी आपराधिक प्रवृतिका व्यक्ति वा समूह उपर सोझै गोली हान्न सक्ने रणनीति बनाइएको छ । यसका लागि सुनसरीमा विशेष जासुसी दस्ता परिचालन गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ ।
विशेष अभियानमा जुटेको सुनसरी प्रहरीले विगतका वर्षहरूमा जिल्लामा भएका आपराधिक घटनासँग सम्वन्धित रहेका सम्वन्धित व्यक्तिको दिनचर्या र अवस्था बारेसमेत लेखाजोखा र निगरानी बढाएको बुझिएको छ ।
विभिन्न घटना वा आपराधिक गतिविधि, लागुऔषध कारोबारी जस्ता अपराधजन्य कार्यमा संलग्न रही सजाय भोगेका वा सजाय काटी रहेकाहरूका हकमा समेत प्रहरीले विवरण दुरूस्त पारेको जनाएको छ । फरार रहेकाहरूको हकमा समेत खोजी तीव्र पारेको प्रहरीले शंकास्पद जोकोहीलाई नियन्त्रणमा लिई छानविन गर्ने गरी सुरक्षा रणनीति तय गरेको छ ।
खुला सीमासँगै जिल्लामा देखिएको साना हतियारको ओपारपसारसँगै आलम र फिदा हत्यामा प्रयोग भएका हतियारले सुरक्षा धम्की बढाएको महसुस गरेको प्रहरीले आपराधिक प्रवृति नियन्त्रणमा लिन ‘टार्गेट काउण्टर’ नीति अवलम्बन गरिएको जनाएको छ ।
सवारी सड्केजाँच, खानतलासीसहित समकक्षीसँगको समन्वयमा खुला सीमाका कारण हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणमा सहकार्यको थालनीसमेत गरिसकिएको प्रहरीको भनाई छ ।
सुनसरी प्रहरी प्रमुख राजन अधिकारीले संघीय र प्रादेशिक सरकार मातहतबाट प्राप्त निर्देशन र कार्यादेश अनुरूप जिल्लाभर विशेष सुरक्षा रणनीति लागू गरिएको बताएका छन् । अपराध नियन्त्रण तथा निर्मुल पार्ने अभियान आम नागरिकको सहकार्य विना सम्भव नहुने भन्दै प्रहरी प्रमुख अधिकारीले आवश्यक साथ र सहकार्यका लागि सर्वसाधारणमा आग्रहसमेत गरेका छन् ।