AArya
RUMPUM
animated ellipse animated ellipse

नेत्रहिनको क्रिकेट : प्रोत्साहनको खाँचो, सांगाहरु विश्वकप छनौटका लागि भिडिरहँदा नेत्रहिनहरु उपाधि ल्याउने कसरतमा छन्

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ मंसिर २०७५, शनिबार १९:५५
3
Shares
विराटनगर / नेत्रहिन क्रिकेट खेलाडिको प्रतियोगिता विराटनगरमा आज सम्पन्न भएको छ । प्रतियोगितामा ६० भन्दा बढी नेत्रहिन क्रिकेट खेलाडीले सहभागीता जनाएका छन् ।

नेत्रहिन क्रिकेट प्रतियोगितामा दर्शक दीर्घामा दर्शकको कमी भएपनि यसको महत्व र गरिमामा कुनै कमि छैन । यस प्रतियोगितालाई राष्ट्रभर मात्रै नभएर विश्वभरबाट चासोका साथ हेरिएको छ । यसलाई सहयोग र समर्थन गर्नु आजको आवश्यकता हो ।

खेलकुद आफैंमा एउटा अधिकार हो । यसका साथै यसले अपाङ्गता भएका व्यक्तिहरूका समानता, स्वतन्त्रता, सामाजिक सहभागिता आदि अन्य अधिकार जस्तै प्रत्यक्ष सरोकार राख्छ । तर, वर्तमान परिप्रेक्ष्यमा हेर्ने हो भने खेलकुदको बहु–आयामिकतालाई गौण विषयका रूपमा लिने परिपाटी छ । दृष्टिबिहीन भएका व्यक्तिहरुले खेल्ने क्रिकेट प्रतियोगिता सामान्य व्यक्तिले खेल्ने प्रतियोगिताभन्दा नितान्त भिन्न छ । आवाजको आधारमा खेलिने भएको कारण बल भित्र आवाज आउने वस्तु राखिएको छ । गुड्दै गएर बल ब्याट्समेनको नजिक पुग्छ अनि व्याट्स्मेनले बल हिर्काउँछन् र बल टाढा जान्छ र खेलाडीले रन लिन्छन् ।

दृष्टिबिहीन खेलाडीले वल्र्डकपसमेत खेल्ने सौभाग्य पाएका छन् । दृष्टिबिहीन खेलाडीले क्रिकेटलाई कमाएर खान सक्ने अवस्था भने छैन । वास्तवमा दृष्टिबिहीन भएका व्यक्तिलाई समाज र राष्ट्रले हेर्ने दृष्टिकोणमा अहिलेसम्म पनि परिर्वतन आउन सकेको छैन ।

नेपाल अहिले दृष्टिबिहीन क्रिकेट खेलाडी करिब ७ सय जना रहेका छन् । जसमा महिला दृष्टिबिहीन क्रिकेट खेलाडी २ सय जना छन् । संसारमा अनेक प्रकारका मानिस हुन्छन् र उनीहरूको अपाङ्गता भएका व्यक्तिप्रतिको दृष्टिकोण पनि फरक–फरक हुन्छ । कसैको नजरमा उनीहरू धर्तीका भार हुन्छन्, कसैका लागि दयाका पात्र त कसैका लागि पेशा गर्ने माध्यम ।
नेपालमा दुई महिलासहित ३३ जना दृष्टिविहीनलाई प्रशिक्षण दिएर सुरु गरिएको यो खेलसँग आबद्ध हुने खेलाडीको संख्या अहिले करिब ७ सय छ । त्यसमध्ये २ सयभन्दा बढी महिला छन् । काठमाडौंको भृकुटीमण्डपको सानो खेल मैदानबाट सुरु भएको यो खेल हाल नेपालका १२ वटा जिल्लामा खेलिन्छ । पूर्वमा धरानदेखि पश्चिममा कञ्चनपुरसम्म यो खेलको विस्तार भइसकेको छ । खेलाडिहरु अत्यन्तै खुसी मानेर खेल्छन्, रमाउँछन् र जीवनको नयाँ अनुभूति लिने गरेको बताउँछन् नेत्रहिन क्रिकेटका रेफ्री नगेन्द्र निरौला ।

दृष्टिबिहीन क्रिकेट खेल्ने विश्वका ३० राष्ट्रमध्ये दृष्टिविहीन महिलालाई क्रिकेट खेलाएर उनीहरूको राष्ट्रिय प्रतियोगितासमेत आयोजना गर्ने नेपाल नै पहिलो देश हो । यस कार्यबाट अन्तर्राष्ट्रिय जगतमा नेपाली दृष्टिबिहीन महिलाप्रतिको दृष्टिकोणमा परिवर्तन हुन गई साहस र हिम्मतको उदाहरणसमेत बन्न सफल भएका छन् । नेत्रहीन क्रिकेट संघको नेतृत्वमा नेपाली नेत्रहीन क्रिकेट टोलीले २००८ र २०१० मा पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेलिसकेको छ । २०१२ डिसेम्बरमा भारतको बेङ्ग्लोरमा सञ्चालित पहिलो दृष्टिबिहीन टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालको तर्फबाट पुरुष दृष्टिविहीन क्रिकेट टोलीलाई सहभागी गराउन सफल भयो । अझ त्यसमा पनि संसारमै पहिलो पटक पुरुष क्रिकेट टोलीमा नेपालका तर्फबाट भगवती भट्टराई एवं रूपा बलाल पुरुष खेलाडीहरूसँगै प्रतियोगितामा सहभागी भएको कुराले त संसारैभर चर्चा पाएको थियो ।

कतिपयलाई नेत्रहिनहरुले पनि क्रिकेट खेल्छन् र भन्ने लागिरहेका बेला नेपालमा नेत्रहिनहरुको क्रिकेट टीमले भने विश्वकप जित्ने लक्ष्य लिएको छ । उनीहरुले अष्ट्रेलिया, इंग्ल्याण्ड, बंगलादेश, दक्षिण अफ्रिका जस्ता क्रिकेटका महारथी राष्ट्रलाई हराई सकेका छन् । नेपालमा आफ्नै स्रोत साधन र इच्छाशक्तिले खेलिरहेका उनीहरुलाई राज्यको तर्फबाट खासै सहयोग छैन । तर, नेत्रहिन क्रिकेट खेलाडी भन्छन् हामीले नयाँ जीवन पाएका छौं, राज्यले थप सहयोग गरे विश्वकपको ट्रफि उचाल्छौं । राज्यले केही सहयोग गरे नेत्रहिन क्रिकेट टीम विश्वकप जित्न सक्ने अवस्थामा देखिएको विराटनगरस्थित सहिद रंगशालामा भएको प्रतियोगिता हेरेपछि क्रिकेट प्रशिक्षक प्रदीप पाण्डेले भने ।

नेपालमा २०६३ सालमा नेत्रहित क्रिकेट संघको स्थापना भएको हो । क्रिकेट संघका संस्थापक अध्यक्ष पवन घिमिरेको पहलमा गठन भएको संघले नेपालको तर्फबाट विश्वकप खेलिसकेको छ भने महिला क्रिकेट टिमको गठन विश्वमै पहिलो पटक भएको छ । क्रिकेट टिममा आवद्ध भएपछि खेलाडीले नयाँ जीवन पाएको नेत्रहिन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेको भनाइ छ ।

नेत्रहिन क्रिकेट खेलाडी भने राज्यले आफूहरुलाई प्रोत्साहन नगरेको बताउँछन् । सवलाङ्ग खेलाडीहरु विदेश जाँदा वा प्रतियोगिताबाट फर्किदा स्वागत गर्न मन्त्री पुग्ने गरेको तर, आफूहरु गएकोबारे जानकारीसमेत राख्ने नगरेको नेत्रहिन खेलाडी दुर्गा भण्डारीको गुनासो छ ।

नेपालले सवलाङ्ग क्रिकेट विश्वकपको प्रतियोगिताबाट उपाधि ल्याउँछु भन्नु अहिलेका लागि हास्यास्पद कुरा हो । किनकी विश्वकप छनौटबाटै नेपाल आउट हुने गरेको छ । तर, नेत्रहिन क्रिकेट टोलीले विश्वकप खेलिसकेको छ भने अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । राज्यको सहयोग र हौसलाको खाँचो रहेको बताउछन नेत्रहिन क्रिकेट टिमका रेफ्रि नगेन्द्र निरौला ।

सरकारले सहयोग नगर्दा पनि आफूहरुले क्रिकेटका महारथीहरुलाई हराएको सम्झँदा उनीहरु गर्व लागेको बताउँछन् । सरकारले सवलांगलाई जत्तिकै सहयोग गर्न नसकेपनि केही प्रोत्साहनका कार्यक्रम ल्याउनु आवश्यक देखिएको छ । नेपालमा यस खेलको विकास मनोरनञ्जन र बेरोजगार दृष्टिविहीन युवालाई अल्झाउने माध्यमको रूपमा मात्र विकास गरिएको होइन । क्रिकेट दृष्टिविहीनहरूका लागि अत्यावश्यक पुनस्थापनाको संयन्त्र पनि हो, जसबाट उनीहरूको सामाजिकीकरणका लागि आवश्यक गमनशीलताको तालिम, नेतृत्व विकास, दैनिक जीवनयापन गर्न सीप, अनुशासन तथा सामूहिक भावना र जिम्मेवारी बहन गर्नसक्ने क्षमताको विकास गर्न सकिन्छ ।

दुर्घटनामा परेर आफ्नो दृष्टि गुमाएकी झापाकी दुर्गा भण्डारी झापाको नेत्रहिन क्रिकेट टिमकी टिम मेनेजर हुन् । उनी क्रिकेटलाई आफ्नो भगवान ठान्छिन् । समाजमा दृष्टिविहीन र धर्तीका बोझ भनेर चिनिने गरेको अवस्थामा उनले २०७४ सालदेखि िक्रकेट खेलमा समावेश भएकी हुन् । अगाडि बढ्न खोज्दा कुन बाटोबाट बढ्ने भन्ने विषयमा उनलाई सँधै चिन्ता हुन्थ्यो । तर, नेत्रहिन क्रिकेट संघले उनलाई क्रिकेट खेल्न प्रोत्साहन ग¥यो । जसका कारण हिंजोको आफ्नो जीवन र आजको आफ्नो जीवन फरक पाएको उनको अनुभव छ ।
क्रिकेटबाट कमाएको प्रशिद्धिका कारण हाल उनी समाजमा उदाहरणको पात्र बन्न सफल भएकी छिन् । क्रिकेटले दृष्टिविहीनहरूमा ल्याएको परिवर्तनको यो उदाहरण हो । जसलाई क्रिकेटले बाँच्न सिकाएको छ र उनीहरू क्रिकेटलाई जीवनको आधार ठान्छन् । नेत्रहिन क्रिकेटका रेफ्री नरेन्द्र निरौलाको भनाइ पनि यस्तै छ । क्रिकेटले उनलाई पनि नयाँ जीवन दिएको छ । माओवादी द्वन्द्वमा परेर हात गुमाएका उनलाई जीवन नै बोझ भएको थियो । उनलाई मात्रै होइन, छिमेकी, साथीभाई र घरपरिवारलाई पनि आफू समस्या जस्तै भएको अनु्भव उनी सुनाउँछन् । तर, जब क्रिकेटको रेफ्रि भएर नेत्रहिनहरुको टिमसँगसँगै हिंड्न थाले उनलाई अहिले खुसी र हौसला पनि मिलेको छ ।

स्वयं अपांगता क्षेत्रभित्र पनि खेलकुद सञ्चालन गर्ने संस्थाहरूलाई त्यति महत्वका साथ हेरिंदैन । झन् राज्यलाई त अपांगता भएका व्यक्तिहरूले खेल्न सक्छन् र उनीहरूले समेत अन्य सांग खेलाडीहरूसरह राष्ट्रका लागि खेल्न सक्छन् भन्ने कुरामै शंका रहेको देखिन्छ । तर, सांगहरुले ल्याएको ट्रफि र मेडल भन्दा कम महत्वको आफूहरुले ल्याएको मेडल र ट्रफि नहुने बताउँछ नेत्रहिन क्रिकेट संघका अध्यक्ष घिमिरे ।

सरकरा पनि सांग र अपाङ्गता भएकाहरुलाई जहिल्यै विभेद गर्छ । सांगहरूको खेलकुद गतिविधि सञ्चालनका लागि करोडौं रकम छुट्याउने खेलकुद मन्त्रालयले अपांगता भएका व्यक्तिहरूको खेलकुद विकासका लागि केही लाखमात्रै छुट्याएर सम्पूर्ण अपांगता जगतकै अवमूल्यन गरिरहेको छ ।

‘अन्तराष्ट्रिय क्षेत्रमा हाम्रो प्रतियोगिता एकदमै राम्रो छ । विश्वकप जित्नका लागि भारत र पाकिस्तान चुनौति छ । सरकारले उपर्युक्त रकम दिँदैन,’ नेत्रहिन क्रिकेट संघका सल्लाहकार राजेन्द्र दुलाल क्षेत्रीको भनाइ छ, ‘क्रिकेट खेल्नका लागि र प्रतियोगितामा भाग लिन दुतावाससँग वा डोनर एजेन्सीसँग पैसा माग्नुपर्ने हाम्रो बाध्यता छ ।’

नेत्रहिन क्रिकेट संघले सपांगले भन्दा छिटो प्रगति गरेको छ । राष्ट्रिय खेलकुद परिषदले दिएको बजेट पर्याप्त पनि छैन । राखेपले अहिले वार्षिक रुपमा ५÷७ लाख रुपैयाँ रकम मात्रै दिने गरेको छ । नेत्रहिन क्रिकेट प्रतियोगिता कल्पना गरेभन्दा राम्रो हुने क्षेत्रीय खेलकुद विकास समितिको कार्यालय प्रमुख टेकप्रसाद कट्टेलको भनाइ छ ।

नेत्रहिनले दुःख गरेर खेलेर पनि नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउन मद्दत गरिरहेका छन् । ‘सपांगले खेल्नु जसरी सहज छ, अपाङ्गले खेल्नु त्यति नै असहज छ,’ नेत्रहिनको क्रिकेट प्रतियोगिता हेरेपछि प्रतिक्रिया दिँदै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको भनाइ छ, ‘अझै संसारका विकसित राष्ट्रलाई जितेर आउनु कुनै मजाकको विषय होइन, यो गम्भिर विषय हो ।’

‘दृष्टिविहीनता कुनै अभिशाप होइन । यो जीवनको अन्त्य पनि होइन । दुर्घटना, गरिबी तथा उचित औषधी उपचारको कमीबाट निम्तिने यस्ता यथार्थ जीवनका लक्ष्य प्राप्तिका लागि बाटो परिवर्तन आवश्यक छ । ‘कुनै दृष्टिविहीनलाई उसको केही मनोवैज्ञानिक आवश्यकता र अनुकूल वातावरणको परिपूर्ति गरिदिने हो भने उनीहरू पनि साङ्ग मानिस जस्तै सुखी र उर्जाशील हुन सक्छन्,’ घिमिरेको भनाइ छ, ‘उनीहरूका दुःख र पीडालाई उनीहरूको दृष्टिविहीनतासँग जोडेर हेर्नु दृष्टिविहीनहरूप्रति अन्याय हुन जान्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर